दक्षिण कोरियाली सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई गाई दिएको छ।
प्राविधिक सहायता गर्ने उद्देश्यले कोरियाली सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई ३६ वटा कोरेली गाई र ६ वटा प्रजनन राँगा र ३४ लिटर जमेको वीर्य दिएको हो।
उक्त गाई तथा साँढे बिहीबार साँझ हेफर इन्टरनेशनलमार्फत नेपाल आइपुगेको हो।
बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क सोङ्ग सु ले कृषि तथा पशुपंछी विकास मन्त्रालयका पशुपंछी विकासतर्फका सचिव डा. दिपककुमार खराललाई हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
कोरियाली सरकारले एक सय वटा होल्स्टेन फ्रिजन जातका कोरेली गाई र २० वटा उच्च प्रजनन मानका साँढेमध्ये प्रथम चरणमा आज सो संख्याका गाई दिएको हो।
मन्त्रालयका अनुसार चार चरणमा गरी पुस १३ गतेसम्म सबै कोरेली गाई र प्रजनन साँढे नेपाल आइपुगिसक्ने छन्।
बिहीबार ल्याइएका कोरेली गाई र प्रजनन साँढे केही दिन नेपाल कृषि अनुसन्धान परिषद् खुमलटारमा राखी पशु प्रजनन कार्यालय पोखरा र लाहान कार्यालयमा तथा कमलामाई नगरपालिकामा हस्तान्तरण गरिनेछ।
यसरी प्राप्त आनुवांशिक स्रोतबाट नेपालमा उच्च प्रजनन जातका गाईको स्रोत केन्द्र विकास, दूध उत्पादन वृद्धि तथा जातीय विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।