जनकपुरधाम उपमहानगरपालिका-१२ का सिताशरण यादवको पुर्ख्यौली पेशा खेती किसानी हो।
उनले सोचेका थिए- खेती गरेरै जिन्दगी बिताइदिन्छु।
दिन खेतमै बित्थ्यो। उनी अरूलाई पनि विदेश जानुभन्दा खेतमै पसिना बगाए बाँच्न सजिलो हुने सल्लाह दिन्थे।
३-४ वर्षदेखि देखि यस्तो अरूलाई यस्तो सल्लाह दिन छोडेका थिए।
उनकै खेतमा विस्तारै उब्जनी घट्न थाल्यो। उनी आफूले भने हिम्मत हारिसकेका थिएनन्।
यो वर्ष पनि उनको खेतमै बित्यो। उनको झण्डै साढे तीन विगाहा जग्गा छ। असार अन्तिम हप्ता उनले तीनै विगाहा जग्गामा धान रोपे। बजारमा मल नपाउँदा बलेकिया (सामान ओसारपसार गर्ने व्यक्ति) मार्फत दोब्बर महँगोमा उनले मलखाद किने।
परिवारको मिहेनत छोडेर खनजोत, सिँचाई, मलखाद, मजदुरी गरि कठ्ठाको दुई हजार रूपैँया खर्च गरे।
परिश्रम यति जबर्जस्त गरे कि अघिल्लो दुई वर्ष लागेको घाटा यसपालि भर्पाइ हुने उनको विश्वास थियो।
तर झन् विजोग भयो। धानको बाला लाग्ने बेलामा किरा लाग्यो। किटनाशक औषधि पनि छर्किए। तै पनि पुरा बचाउन सकेनन्।
त्यसैले यसपालि उनी खेतीबाट आजित भइसकेका छन्। उनको मनमा खेती छोड्ने विचार आउन थालेको छ।
‘आफूलाई परिवारको विचल्ली हुन्छ कि भन्ने पीर छ, अरूलाई पनि खेती गर भन्न छोडिसकेँ,’ उनले भने।
उनको आर्थिक अवस्था खस्किदै गएको छ।
सोही ठाउँका विन्देश्वर यादवले पनि अढाई विगाहा खेतमा धान खेती गरेका थिए। मिहनेत त उनले पनि अझै बढी गरे।
‘मेरो छोराले एसएसबीको लाठी खाएर मल ल्याएका थिए। नेपाली पुलिसलाई प्रतिबोरा ५० रूपैँया घुस दिएपछि मात्र खाद ल्याउन दियो। वर्षा भएन। तै पनि डेढ सय रूपैँया घण्टाले पानी पटाएको थिएँ,’ उनले भने।
तर धान त एक ठाउँमा एक मन मात्र उब्जियो।
‘रोग लागेर धान बर्वाद भयो,’ उनले गुनासो पोखे, ‘हाम्रो खेत छ। खेतीबाहेक अरू केही काम पनि जान्दिन। कसरी जिन्दगी काट्ने हो?’
उनीहरू जस्तै हैरान छन्, मधेस प्रदेशका धेरै किसान।
मधेश प्रदेशको कृषि निर्देशनालयको अघिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि धान खेती घटेको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा ४ लाख १२ हजार १९१ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। जसमा १४ लाख ६० हजार ४५७ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा ३ लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमा खेति गरिएकोमा १२ लाख ९४ हजार २७७ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ।
किसानहरूलाई आफ्नो धानखेतीमा किन रोग लागिरहन्छ थाहा छैन। उब्जनी किन घटेको छ पनि थाहा छैन।
किसानको यहीँ पिरलो लिएर हामी निर्देशनालय पुग्यौँ। विज्ञहरूसँग हामीले किन धानको उत्पादन घटिरहेको किसानहरूको गुनासो सुनायौं।
पृथ्वी तातो हुँदै जाँदा धानो उत्पादन घट्दै गएको रहेछ।
निर्देशनालयका बाली संरक्षण अधिकृत जय नरायण मण्डल तापक्रम बढेर विभिन्न रोग तथा प्रकोपको असर धानबालीमा सबैभन्दा धेरै देखिएको बताउँछन्।
उनले अन्तर्राष्ट्रियस्तरमा गरिएको विभिन्न अनुसन्धानबारे कुरा गरे। अनुसन्धानहरूले १ डिग्रिसेल्सियस तापक्रम वृद्धि हुँदा १० प्रतिशत धानको उत्पादन घटेको देखाएका छन्। नेपालमा पनि यस्तै अवस्था देखिएको उनको भनाइ छ।
‘तापक्रम बढ्दा रोग वा किराको प्थोजिन बढ्छ। गर्मीमा जिवाणु तथा किराको जीवनचक्र बढ्छ। संक्रमण बढ्छ। त्यसले अटोमेटिक रूपमै १० प्रतिशतसम्म उत्पादन घट्छ,’ उनले भने।
जलवायु परिवर्तनले मनसुन ढिला हुने र समयमा रोपाइँ हुन नसक्दा किराको प्रकोप बढेर पनि उत्पादन हुनुपर्ने जति नभएको मण्डलले बताए।
तापक्रम वृद्धिले चैते धानलाई भने फाइदा पुगेको उनले बताए।
भन्छन्, ‘सनलाइट बढ्दा धानको बिरूवामा फोटो सेन्थेसिस बढ्छ। त्यसले उत्पादन पनि बढाउँछ तर समग्रमा तापक्रम वृद्धिले नकरात्मकै असर पारेको छ।’
जलवायु परिवर्तनकै कारण धान भित्र्याउने बेला हावाहुरी सहित आएको वर्षाले क्षति हुने र उत्पादन घट्ने निर्देशनालयका प्रवक्ता विकास साहले बताए।
जलवायु परिवर्तनले सबैभन्दा धेरै धानबालीलाई असर पारेको राष्ट्रिय कृषि अनुसन्धान परिषदका वैज्ञानिक डा.सुशील सुवेदी बताउँछन्। यद्दपि यसबारेमा नेपालमा भरपर्दो अनुसन्धान हुन भने बाँकी रहेको उनको भनाई छ।
सुवेदीका अनुसार जलवायु परिवर्तनले मुख्यतः दुई किसिमले धानबालीमा असर पर्छ। तापक्रम वृद्धि र अनियमित वर्षाले।
‘धानमा फूल फुल्ने बेला ४० डिग्रीभन्दा बढी तापक्रम भयो भने भाले अंग मर्न थाल्छ। त्यो असर एकदमै देखिएको छ। कहीँकहीँ दाना नलाग्ने, रोग लाग्ने देखिन्छ, उनले भने, ‘कहिलेकाहीँ फूलफुल्ने बेला भारी वर्षा भइदिन्छ। त्यसले दाना लाग्दैन। यो ४/५ वर्षदेखि यो अलि बढी भइरहेको छ। अनुसन्धान नभएपनि त्यो कुरा अनुभवले देखाउँछ।’
७ सय मिटरसम्म मध्य तराई र भित्री मधेसमा उत्पादन हुने धान तापक्रम बढेर १२ सय मिटरसम्म पनि राम्रै फलेको पाइएको उनको भनाई छ। गर्मी बढेका कारण पहाडतिर धानबालीलाई भने फाइदा गरेको उनले बताए।
कृषि वैज्ञानिक सुवेदीको भनाईमा नेपालमा तीन थरिका धान खेती गरिन्छ। छिटो, अलि बीचमा र ढिलो पाक्ने।
‘छिटो पाक्ने धान लगाउँदा पानी पहिले भदौमा पर्थ्यो। जसले परागसेचनलाई सहयोग पुर्याउँथ्यो। अहिले पानी पर्यो भने एकदमै ठूलो पानी परिदिने देखिन्छ। ठूलो पानीले फर्टिलाइजेशन अघि नै परागलाई बगाइदिन्छ।
त्यसको असरले धानको बालामा ८०/९० प्रतिशत दाना लाग्नुपर्नेमा ४०/५० प्रतिशत मात्र लागिरहेको छ,’ उनले भने।
जलवायु परिवर्तनको असरले धान रोपाइ नै एक महिना ढिलो भइरहेको उनले बताए। ढिला रोपिने धानमा पछिल्लो समय सुख्खा लाग्ने क्रम बढेको उनको अनुभव छ।
‘असारमा पानी पर्ने ठाउँमा वैशाखमै पानी परिदिन्छ। जेठ र असारमा सुख्खा हुन्छ। दाङतिर साउन १५सम्म रोपाइ सकिन्छ तर यसपालि साउन १६ गतेतिर सुरू नै भयो,’ उनले भने।
निर्देशनालयले भने अघिल्ला दुई वर्षको तुलनामा अहिले धान खेती र उत्पादन बढेको बताएको छ।
उसका अनुसार आर्थिक २०७९/८० मा ४ लाख ३ हजार ५६२ हेक्टर क्षेत्रफलमा खेती गरियो। जसमा १५ लाख २१ हजार ४३३ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ।
यसरी उत्पादन बढ्नुमा प्रमुख दुई कारण रहेको निर्देशनालयका प्रवक्ता विकास साह बताउँछन्।
‘सिँचाईंका सुविधा थपिए र आकासे वर्षा पनि समयमा भएकाले अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको देखिन्छ,’ प्रवक्ता भने, ‘स्थानीय तह, प्रदेश र संघ सरकारले सिँचाई क्षेत्रमा पछिल्लो समय काम गरेको छ। किसानले उन्नत जातका बिउ बिजन पनि पाएका छन्। त्यसैले उत्पादनमा कमी नदेखिएको हो।’
कृषि मन्त्रालयका एक अधिकृतले भने अनुमानकै भरमा पाएको विवरणको आधारमा प्रदेशको मन्त्रालयले तथ्यांक सार्वजनिक गर्ने हुँदा धान उब्जनी बढेकोमा विश्वस्त हुनसक्ने आधार नरहेको बताए।
‘स्थानीय तहले विवरण संकलन गर्दा फिल्डमा जाँदैनन्। अनुमानको भरमा तयार पारेको डाटा जिल्लाका कृषि ज्ञान केन्द्रलाई पठाउँछ। उसले पठाएको डाटा मेनुअल इनभ्यारोमेन्टल लगायतका कुराहरू आधार बनाएर मन्त्रालयले अनुमानित प्रोजेक्सन तथ्यांक प्रस्तुत गर्छ जुन सही हुनै सक्दैन,’ ती अधिकृतले भने, ‘मन्त्रालयमा तथ्यांक शाखा छ तर कर्मचारी नै छैनन्। सिस्टमेटिक तथ्यांक निकाल्न सम्बन्धित सेक्टरका कर्मचारी नहुँदा अरु क्षेत्रकै कर्मचारीले त्यसलाई भेरिफाइ गरिदिन्छन्। यस्तो अवैज्ञानिक तथ्यांकमा कसरी विश्वास गर्ने?’