व्यवसायिक घराना गोल्यान ग्रुप कृषिमा लागेको तीन वर्ष बढी भयो।
यसले अर्ग्यानिक खाद्यान्न, फलफूल तथा तरकारी उत्पादन गरी 'माटो' ब्राण्डमा बेच्दै आएको छ।
ग्रुपले केही आफैं उत्पादन गर्छ भने केही किसानसँग सहकार्य गरेर उत्पादन गरेको छ।
झापामा करिब तीन सय बिघा जग्गामा ग्रुपले आफैंले फलफूल तथा तरकारी लगाएको छ।
कृषि उत्पादनमा विषादी प्रयोगले रोग बढ्दै गएकाले अर्ग्यानिक खेती गरी तिनै उत्पादन बजारमा ल्याएको हो।
माटो ब्राण्ड भित्रका खाद्यानमा दाल, चामल, गेडागुडी, चिउरा, ड्राइ फ्रुट्स, गुन्द्रुक, पानी, हर्बल चिया, मसला, अचार, पिठो, मह, अण्डा, घ्यु, तेल पाइने गोल्यान एग्रोकी ब्राण्ड पिआर मार्केटिङ निशा देवकोटाले जानकारी दिइन्।
त्यस्तै, फलफूल तथा तरकारीमा कागती, स्ट्रवेरी, केरा (जि९), अम्बा, ड्रायागन फ्रुट तथा किवी पाइन्छ।
उनका अनुसार यी सामान ग्राहकले माटोको स्टोर र अनलाईनबाट किन्न पाउँछन्।
ग्रुपले झम्सिखेल, सानेपा, नक्साल, बानेश्वर, गोल्फुटार र नारायणटारमा आउटलेट खोलेको छ।
आगामी दिनमा थप आउटलेट खोल्ने योजना रहेको देवकोटाको भनाइ छ।
'ग्राहकलाई आउटलेट जान पायक परेन भने फोन गरेर सिधै अनलाइन अर्डर गर्न सक्छन्,' उनले भनिन्।
ग्रुपले आफूसँग सहकार्य गरेका किसानको मात्र नभई अन्य किसानले उत्पादन गरेको अर्ग्यानिक तरकारी पनि लिने छ।
तर, त्यसको लागि किसानले विषादी प्रयोग नगरी उत्पादन गर्नुपर्ने हुन्छ।
कृषि उत्पादनलाई अर्ग्यानिक बनाउँदै लैजाने लक्ष्यअनुसार ग्रुपले 'जयन्त गोल्यान फाउन्डेसन' स्थापना गरेको छ।
यो फाउन्डेसनले गाउँ–गाउँमा गएर किसानसँग समन्वय गर्न गर्न सघाउँछ।
यो फाउन्डेसनमा विभिन्न गाउँहरू जोडेर त्यहाँका किसानलाई अर्ग्यानिक खेती सिकाइने र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने ग्रुपले जनाएको छ।
ग्रुपसँग अर्ग्यानिक खेतीका लागि भारतीय र नेपाली गरी कृषि प्राविधिक टोली छ।
माटो ब्राण्डका तरकारी बजारमा आएसँगै अब किसानले तरकारी फ्याँक्नु नपर्ने दाबी ग्रुपले गरेको छ।
अहिले ग्रुपले उत्पादनका लागि बिउ छिमेकी मुलुक भारतबाट ल्याएको छ। आगामी वर्षमा भने आफैं बिउ उत्पादन गर्ने योजना बनाएको छ।
ग्रुपले देशभरको कृषि उत्पादनलाई १० वर्षपछि अर्ग्यानिक बनाउने लक्ष्य लिइएको छ।
यो पनि हेर्नुस्ः
झापामा तीन सय बिघा जग्गा किनेर गोल्यान समूह अर्ग्यानिक तरकारी खेतीमा