कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्ष धान उत्पादन बढ्ने प्रक्षेपण गरेको छ।
समयमा बिउ, मल तथा सिंचाई पुगेकाले मन्त्रालयले धान उत्पादन बढ्ने प्रक्षेपण गरेको हो।
मन्त्रालयका अनुसार यस वर्ष १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धान रोपाईं भएको थियो।
मन्त्रालयको प्रक्षेपण अनुसार यो वर्ष ५४ लाख ८६ हजार चार सय ७२ मेट्रिक टन धान उत्पादन हुने छ। त्यस्तै, उत्पादकत्व प्रति हेक्टर ३.७५ टन हुने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा दुई प्रतिशतले कमी आएको देखिन्छ।
त्यस्तै, धान उत्पादन भने ६.९४ प्रतिशतले वृद्धि हुने देखिएको छ।
गत वर्षको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ३३.३३ प्रतिशतले धान उत्पादन वृद्धि हुने देखिएको मन्त्रालयको अनुमान छ।
गत वर्ष बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भए उत्पादनमा कमी आएको थियो।
त्यस्तै, गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२, प्रदेश–१ मा ५.७२, कर्णालीमा ४६, मधेश प्रदेशमा ०.१८, बागमतीमा १.४५ र गण्डकीमा ३.७४ प्रतिशतले धान उत्पादनमा कमी आएको देखिन्छ।
खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, फापरलगायत) को आवश्यकताका हिसाबले प्रतिव्यक्ति प्रतिवर्ष करिब १८१ केजी चाहिन्छ।
त्यस्तै, चामल मात्रै एक सय २१ केजी चाहिन्छ। तर नेपालमा भने औषत प्रतिव्यक्ति प्रति वर्ष एक सय ३७ केजी उपभोग भइरहेको छ। यस हिसाबले मुलुकमा वार्षिक ४० लाख मेट्रिक टन चामल आवश्यक छ।
उत्पादनका हिसाबले ५५ लाख धानमा ३५ लाख २० हजार मेट्रिक टन चामल उपलब्ध हुन्छ। यस हिसाबले नेपालमा करिब ४ लाख ८० हजार मेट्रिक टन चामल कमी देखिन्छ।
यसलाई मध्यनजर गर्दै धानमा आत्मनिर्भर हुन मन्त्रालयले मसिना तथा वासनादार धान प्रवर्द्धन कार्यक्रम र धानको जातीय विकासका लािग अनुसन्धान कार्यक्रम सञ्चालन गरेको छ।
कुल गार्हस्थ उत्पादनमा धानको चार प्रतिशत र कृषि क्षेत्रको १३ प्रतिशत योगदान छ।