चालु आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले ऊखुको न्यूनतम खरिद मूल्य तोकेको छ।
बुधबारको मन्त्रिपरिषद बैठकले ऊखुको न्यूनतम समर्थन मूल्य तोकेको हो।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार ऊखुको उत्पादन लागत, ढुवानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको ऊखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ४० रूपैयाँ निर्धारण गरिएको हो।
यो मूल्य गत आर्थिक वर्षको भन्दा प्रतिक्विन्टल २० रूपैयाँले बढी हो। गत आर्थिक वर्ष सरकारले ऊखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल पाँच सय २० रूपैयाँ तोकेको थियो।
ऊखु किसानलाई सरकारले दिने अनुदान भने यथावत् राखिएको छ।
'ऊखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ को उपदफा ३ अनुसार चालु आर्थिक वर्षका लागि सरकारले ऊखु किसानलाई दिने अनुदान भने यथावत् राखिएको छ। यस वर्ष पनि ऊखु किसानले प्रतिक्विन्टल ७० रूपैयाँ अनुदानका रूपमा पाउने छन्,' कृषि मन्त्रालयले विज्ञप्तिमा भनेको छ।
सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत जोड्दा किसानले चालु आर्थिक वर्षका लागि ऊखु बिक्रीमा न्यूनतम छ सय १० रूपैयाँ पाउने छन्।