राजमार्गमा तरकारी फालेर किसान आन्दोलन सुरू गरेका चितवनका किसानहरूले कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहलाई ज्ञापनपत्र बुझाएका छन्।
चितवनमै रहेकी मन्त्री साहलाई किसानहरूले स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहन गरी आयात निषेध गर्ने लगायतका दसबुँदे माग राखेर ज्ञापनपत्र बुझाएका हुन्।
तरकारी तथा कृषिजन्य वस्तुहरूमा उत्पादन लागत कम गर्ने नीति निर्माण गर्नुपर्ने, लागत भन्दा बजार मूल्य कम भएमा लागत मूल्य पाउनेगरी सरकारले अनुदान प्रदान गर्नुपर्ने, हाल रहेको अनुदान नीति खारेजगरी उत्पादन र क्षेत्रफलको आधारमा अनुदान नीति निर्माण गर्नुपर्ने माग राखिएको किसान संघर्ष समिति चितवनको तदर्थ समितिका संयोजक लेखनाथ भुषालले बताए।
साथै किसानहरूको वर्गीकरण गरी किसान कार्ड र पेन्सनको व्यवस्था गर्न, कृषि व्यवसायलाई अौद्योगिकीकरण गर्ने नीति निर्माण गरी लागू गर्न, गुणस्तरीय बीउबिजन, विषादी र रसायनिक मलको सर्वसुलभ व्यवस्था गरी निर्वाध रूपमा किसानको पहुँच पुग्ने र सरकारी तवरबाट अनुगमन, प्रमाणीकरणको व्यवस्था गर्न, सरकारी बीमा संस्थानबाट कृषिजन्य वस्तु र किसानको स्वत: बीमाको व्यवस्था गर्न माग गरेको उनले बताए।
किसानहरूले सरकमरको मातहतमा रहेको बाँझो जमिनमा खेती गर्ने व्यवस्था गर्न र कृषि प्राविधिक किसानको बारीमा उपलब्ध हुने व्यवस्था गर्न कृषिमन्त्रीसँग माग गरेका छन्।
ज्ञापनपत्र बुझ्दै मन्त्री साहले भारतबाट तरकारीको आयात रोक्ने मागलाई गम्भीरताका साथ लिएको बताइन्।
किसानका समस्या राज्यले नसुनेको भन्दै शुक्रबार किसानहरूले नारायणगढमा राजमार्गमा तरकारी फालेर किसान आन्दोलनको घोषणा गरेका थिए।