चितवनका किसानको समस्या समाधान गर्न एक दशक देखि कृषि क्षेत्रमा काम गर्दै आएको संस्था फोरएच नेपालले सरकारसँग आग्रह गरेको छ।
तरकारीले उचित बजार मूल्य नपाएपछि किसानले सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहल कदमी नगरेको भन्दै फोरएचले सरकारको ध्यानाकर्षण गराएको हो।
‘किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ,’फोरएच नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
फोरएचका अध्यक्ष लोकराज अवस्थीद्ले विज्ञप्ति मार्फत् पीडित किसानका माग तत्काल पूरा गर्न र नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरेका छन्।
विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुने गरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको उल्लेख छ। त्यस्तै किसानको लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहुँच नहुनुले किसानहरूले चर्को सास्ती बेहोर्नु परेको जनाइएको छ। बिचौलियाका कारण किसानले कम मूल्य पाउने गरेको विज्ञप्तिमा उल्लेख छ।
सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारको बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको औंल्याइएको छ।
नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरणबारेमा नेपाल सरकारसँग आवश्यक तथ्यांक, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणाली सम्बन्धी एकिृकत नीति, योजना तथा कार्यक्रमको अभावले कृषि सम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको उल्लेख छ।
समस्या माधानका लागि तत्काल एक अधिकार सम्पन्न उच्चस्तरीय समिति गठन गर्न पनि सरकारसँग माग समेत गरेको छ।
फोरएचले साना नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यवसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन पनि माग गरेको छ।