सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने भएको छ।
गाउँपालिका कार्यपालिकाले पालिकाभित्रका किसानलाई खेत सिँचाइ विद्युत महसुल गाउँपालिकाले तिरिदिने निर्णय गरेको हो।
सबै किसानको खेत सिँचाइको विद्युत महसुल गाउँपालिकाले एकमुष्ट रूपमा नेपाल विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
खेतमा सहज सिँचाइ उपलब्ध भएमा किसानको कृषि उत्पादन बढ्ने र आर्थिक आम्दानी वृद्धिमा उल्लेखनीय योगदान पुग्ने उद्धेश्यले गाउँसभाबाटै यो निर्णय भएको उनले बताए। यद्यपि पोखरीको लागि प्रयोग हुने विद्युत व्यावसायिक प्रयोजनका लागि हुने भएकाले सो विद्युत महसुल पोखरी मालिक वा पोखरी ठेक्का लिएका ठेकेदार स्वंयले तिर्नुपर्ने निर्णय भएको उनको भनाइ छ।
खेतको आवश्यक स्थानमा कृषि विद्युत मिटर पुर्याउन २०७९ फागुन १ गतेदेखि कृषि मिटर जडान अभियान सञ्चालन समेत सुरू गरिएको छ।
नेपाल विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रको सहकार्यमा गाउँपालिकाले गाउँपालिकामा नै विद्युत मिटर फारम भर्ने र बुझाउने व्यवस्था मिलाएको छ।
किसानले गाउँपालिका गई कृषि मिटरको फारम लिने र आवश्यक पर्ने कागजात तथा राजस्वसहित सम्पूर्ण कागजात गाउँ कार्यपालिकाको कार्यालयमा बुझाउनेछ।
गाउँपालिकाले पेश भई आएको सम्पूर्ण कृषि विद्युत मिटर निवेदन फारम एकमुष्ट रूपमा नेपाल विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने छ।
विद्युत प्राधिकरणले कृषि सिँचाइका लागि प्रति युनिट औसत २.२५ रुपैयाँ तोकेको छ। चालु आर्थिक वर्षमा कृषि विद्युतीकरणका लागि गाउँपालिकाले एक करोड चालिस लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।