सर्लाहीको चन्द्रनगर गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने भएको छ।
गाउँपालिका कार्यपालिकाले पालिकाभित्रका किसानलाई खेत सिचाइँका लागि विद्युत महसुल तिरिदिने निर्णय गरेको हो।
सबै किसानको खेत सिचाइँको कृषि विद्युत महसुल गाउँपालिकाले एकमुष्ट रूपमा नेपाल विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए।
खेतखेतमा सहज सिचाइँ उपलब्ध भएमा किसानको कृषि उत्पादन बढने र आर्थिक आम्दानीमा वृद्धिमा उल्लेखनीय योगदान पुग्ने उद्देश्यले गाउँसभाबाटै यो निर्णय भएको उनले बताए।
पोखरीका लागि प्रयोग हुने विद्युत भने व्यावसायिक प्रयोजनका लागि हुने भएकाले उक्त महसुल पोखरी मालिक वा पोखरी ठेक्का लिएका ठेकेदार स्वयंले तिर्नुपर्ने निर्णय भएको उनको भनाइ छ।
खेतको आवश्यक स्थानमा कृषि विद्युत मिटर पुरयाउन २०७९ फागुन १ गते देखि कृषि मिटर जडान अभियान समेत सुरू गरिएको छ। नेपाल विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रको सहकार्यमा गाउँपालिकाले विद्युत मिटर फारम भर्ने र बुझाउने व्यवस्था मिलाएको छ।
किसानले गाउँपालिकाबाट कृषि मिटरको फारम लिएर आवश्यक कागजात तथा राजस्व कार्यालयमा बुझाउनु पर्नेछ। गाउँपालिकाले सबै कृषि विद्युत मिटर निवेदन फारम एकमुष्ट रूपमा विद्युत प्राधिकरण मलगंवा वितरण केन्द्रमा बुझाउनेछ।
प्राधिकरणले कृषि सिचाइँका लागि प्रतियुनिट औसत २.२५ रूपैयाँ महसुल तोकेको छ। चालु आर्थिक वर्षमा कृषि विद्युतीकरणका लागि गाउँपालिकाले एक करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।