झापाको कनकाई नगरपालिकाले किसानलाई डिजिटल कृषि प्रविधिमा जोड्न जियो कृषि एप (मोबाइल एप) सुरूवात गरेको छ।
एक कार्यक्रमबीच अभियान नेपालका अध्यक्ष प्रेम गिरी र हेफर नेपालका क्षेत्रीय प्रबन्धक दीपेश पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई डिजिटल मेसिन (किओस्क) हस्तान्तरण गरे।
अभियान नेपालका अध्यक्ष गिरीले स्थानीय स्तरमा रहेका कृषकहरूलाई कृषि सूचना प्रविधिमा पहुँच बढाई कृषि उत्पादन र कृषकको उत्पादकत्व बढाउने उद्देश्यका साथ कनकाई नगरपालिकालाई डिजिटल मेसिन (किओस्क) प्रदान गरिएको बताए।
यसबाट कृषि सूचना तथा प्राविधिक परामर्श सेवा समेत प्रवाह गर्न सकिने गिरीले प्रष्ट पारे। किसानलाई मोबाइल एपमै विज्ञहरूको सेवा समेत उपलब्ध हुनेमा गिरीले जोड दिए।
‘बाली रोपाइँदेखि कटाइसम्मका हरेक पक्षलाई एपमा समेटिएको छ,’ गिरीले भने, ‘यसले किसानलाई कुन समयमा के बाली लगाउने र बजारको खोजी कसरी गर्ने भन्ने समस्याबाट मुक्त गराउन मद्दत पुग्नेछ।’
मेसिन ग्रहण गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले हेफर नेपालले कनकाई नगरपालिकालाई गरेको सहयोगप्रति आभार प्रकट गरे। हेफर नेपालसँगको सहकार्यमा कनकाई नगरपालिका कृषि क्षेत्रमा नमुना नगर बन्ने विश्वास व्यक्त गरे ।