पृथ्वी राजमार्गबाट बन्दीपुरतर्फ उक्लँदै गर्दा बायाँतर्फ राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम लेखिएको ठूलो गेट देखिन्छ। नेपाल सरकारको कृषि अनुसन्धान परिषद्(नार्क)अन्तर्गत सञ्चालित कार्यक्रमको कार्यालय यो गेटभित्र छ।
बाख्रासम्बन्धी मार्गचित्र तयार गरी राष्ट्रियस्तरमा बाख्रासम्बन्धी अध्ययन, अनुसन्धान, अनुगमन गर्नुको साथै आफ्नो कार्यक्षेत्रमा पाइने रैथाने/स्थानीय र लोपोन्मुख बाख्राका जातहरूको संरक्षण, सम्बर्द्धन र प्रयोगको उद्देश्यले स्थापना गरिएको कार्यालय हो यो।
नेपालमा रहेका स्थानीय बाख्रालाई जोगाउने, अन्यत्रका राम्रा जातका बाख्रा ल्याएर उन्नत नश्ल उत्पादन गर्ने, बाख्रासँग सम्बन्धित जनशक्तिहरूको क्षमता अभिवृद्धि गर्ने, आवश्यक नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई सहयोग गर्ने लगायतका काम यो कार्यालयले गर्छ।
यी कामका लागि सरकारले बर्सेनि करोडौं रकम छुट्टाउने गरेको छ। तर अनुसन्धानका लागि आवश्यक पर्ने प्राविधिकहरूको व्यवस्थापन गर्नमा भने नार्क चुकेको छ।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका निमित्त प्रमुख पूर्णबहादुर श्रेष्ठकाअनुसार हाल यहाँ ८० हेक्टर जमिनमा रहेका तीन वटा फार्महरूमा ८४६ वटा बाख्रा छन्। यी बाख्राको अनुसन्धान गर्ने प्राविधिकहरू भने ७ जनामात्रै छन्। उनीहरूमध्ये पनि कार्यालय प्रमुखसहित तीन जनामात्रै विज्ञ छन्। बाख्राको स्याहार गर्ने दैनिक ज्यालादारी कर्मचारी ३५ जना छन्। राष्ट्रिय कार्यक्रमलाई प्राविधिक, लेखा, प्रशासन र तथ्यांककासहित १० जना कर्मचारीले धान्नुपरेको उनले बताए।
श्रेष्ठकाअनुसार यो कार्यालयका लागि तोकिएको दरबन्दी संख्या २६ जनाको छ।
‘भएका कर्मचारीले छाड्दै जाने तर नयाँ कर्मचारी नआउने समस्या भयो,’ उनले भने, ‘प्राविधिक जनशक्ति कम हुँदा अनुसन्धान अपेक्षाकृत हुन सकेको छैन।’
उनी भेटेरिनरी डाक्टर हुन्। तर यहाँ उनको दरबन्दी फरक छ। काम भने भेटेरिनरी डाक्टरकै गर्ने गरेका छन्।
‘यहाँ यस्तै खालको समस्या छ,’ श्रेष्ठले भने, ‘तै पनि हामीले लक्ष्यभन्दा राम्रो काम गर्दै आएका छौं।’
यहाँ अहिले १५० वटा स्थानीय खरी जातका बाख्रा छन्। स्थानीय सिन्हान जातका बाख्रा १७ वटा छन्। शत प्रतिशत बोर बाख्रा १७३ वटा, शत प्रतिशत सानेन् ५६ वटा, खरीसँग क्रस गरिएका वर्णशंकर बोर ३४२ वटा, वर्णशंकर सानेन् ७९ वटा, पचास प्रतिशत जमुनापारी ४ वटा, सत प्रतिशत बारबारी बाख्रा २५ वटा छन्।
श्रेष्ठले स्थानीय खरी बाख्रामा अमेरिकाबाट ल्याइएको दक्षिण अफ्रिकाको प्रजाति बोर क्रस गराएर ९८.४४ प्रतिशत बोर(वर्णशंकर) बाख्रा उत्पादन गर्न सफल भएको बताए। केही महिनाअघिमात्रै जन्मिएको यो खरी बाख्रासँगको क्रसबाट जन्मिएको छैठौं पुस्ता हो। यसअघिका पाँच पुस्ताहरू पचास प्रतिशत बोर १०८ वटा, ७५ प्रतिशत १०६ वटा, ८७.५ प्रतिशत ८५ वटा, ९३.७५ प्रतिशत ३४ वटा र ९६.८७५ प्रतिशतका ८ वटा बोर बाख्रा यहाँ छन्।
‘छैठौं पुस्तामा आइपुग्दा हामी धेरै सफल भइसकेका छौं। बोर र खरीको क्रस ७५ प्रतिशतसम्म सफल भएको छ,’ श्रेष्ठ भन्छन्।
छिटो बढ्ने र धेरै तौल हुने बोर बाख्रा मासुका लागि पाल्ने गरिन्छ। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले सबैभन्दा पहिले २०६५ सालमा नुवाकोटका किसानले पालेका दुई वटा बोर पाठा खरिद गरेको थियो। ती पाठालाई स्थानीय खरी बाख्रामा क्रस गराएपछि यहाँ पहिलो पुस्ताका बोर बाख्रा जन्मिएका थिए। त्यो सफल हुने देखिएपछि उक्त कार्यालयले २०७० सालमा अमेरिकाबाट बोरका ५० वटा पाठी र १५ वटा पाठा किनेर ल्याएको थियो।
‘हामीले अनुसन्धानका उपलब्धी किसानलाई सुनाउने र उनीहरूलाई व्यवसायका लागि सल्लाह दिने गरेका छौं,’ श्रेष्ठले भने, ‘९८.४४ प्रतिशत बोर जन्मिनु भनेको लगभत शत प्रतिशत हो। यसलाई नेपाली, बन्दीपुरे बोर नाम दिएर प्रवद्र्धन गर्न सकिन्छ।’
यो कार्यालयले दूधका लागि पालिने सानेन् जातका बाख्राको पनि अनुसन्धान गरिरहेको छ। स्विट्जरल्याण्डबाट ल्याइएका २० वटा पाठी र १० वटा पाठाबाट पाँचौं पुस्ता जन्मिएको श्रेष्ठले बताए।
नेपाली खरी बाख्रासँगको क्रसबाट पाचौं पुस्ता ९६.८७५ प्रतिशत सानेन् जन्मिएको उनले बताए।
सानेन् बाख्राले एक दिनमा ४ लिटरसम्म दूध दिन्छन्। यसबाट चिजलगायतका परिकारहरू बनाएर बिक्री गर्ने गरिन्छ। यो कार्यालयले यहाँ रहेका बाख्राको दूधबाट चिज बनाएर बिक्री गर्दै आएको छ। यहाँ उत्पादन हुने चिजको माग बजारमा धेरै छ।
भारतबाट ल्याइएका जमुनापारी र बारबरी जातका बाख्राको विषयमा पनि यहाँ अनुसन्धान भइरहेको छ।
यहाँ बाख्रामा कृतिम गर्भाधानको विषयमा पनि अनुसन्धान गरिएको छ। तर यो करिब ३० प्रतिशतमात्रै सफल भएको श्रेष्ठले बताए।
पहाडका खरी, मध्य पहाडका सिन्हाल, तराईका तराई बाख्रा र हिमालका च्याङ्ग्रा नेपालका रैथाने प्रजाति हुन्। श्रेष्ठले स्थानीय प्रजातिलाई जोगाई राख्ने र मासुका लागि व्यवसायिक बाख्रा पालन गर्ने किसानलाई सहयोग गर्ने उद्देश्यमा कार्यालयले काम गरिरहेको बताए।
कार्यक्रमले अनुसन्धान र प्रवर्द्धनका लागि देशका विभिन्न जिल्लामा अनुसन्धान केन्द्र तथा बाख्रा श्रोत केन्द्रहरू स्थापना गरेको छ। यहाँ उत्पादित बोकाहरू देशका ३२ जिल्लामा पुगेको श्रेष्ठले बताए। कार्यालयले अनुसन्धानका लागि चाहिनेभन्दा बढी बोकाहरु बीउका रूपमा बिक्री गर्ने गरेको छ। अनुसन्धान र बीउका लागि अयोग्य बाख्रा मासुका लागि पनि बिक्री गर्छ।
‘हामीले पाएको जिम्मेवारीअनुसार त प्राविधिक जनशक्ति नै ५० जना चाहिन्छ तर हामीले चाहिनेभन्दा असाध्यै कम जनशक्तिको भरमा काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘प्राविधिकहरूले सहरी क्षेत्र रोज्ने र उपल्लो निकायले पनि कम महत्व दिने भएकाले अनुसन्धानमा समस्या छ।’
प्राविधिकको संख्या घट्दै गएपनि नार्कले २०७३ सालदेखि कर्मचारी भर्नाको विज्ञापन निकालेको छैन। श्रेष्ठले अनुसन्धान कार्यक्रम भनिएपनि यसमा सहभागी प्राविधिकहरुले आवश्यक तालिम नपाएको गुनासो गरे।
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमका लागि गत वर्ष ६ करोड ३६ लाख १३ हजार ३६० रुपैयाँ बजेट थियो। यस वर्षको बजेट ७ करोड २ लाख ८५ हजार रुपैयाँ छ।
कृषि तथा वन विश्वविद्यालयको पशु प्रजनन् विभागका प्रमुख सह–प्राध्यापक डा.निराजन भट्टराई बन्दिपुरमा रहेको अनुसन्धान केन्द्रले नेपालमा बाख्राको उत्पादकत्व बढाउन भूमिका खेले पनि रैथाने बाख्राको संरक्षणमा खासै काम गर्न नसकेको बताउँछन्। बाख्रा विज्ञ भट्टराईले विदेशबाट विकासे बाख्रा ल्याएर नेपालका स्थानीय बाख्रासँग क्रस गराई उत्पादकत्व बढाउनमा राष्ट्रिय अनुसन्धान कार्यक्रमले महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
‘नेपालका किसानहरूले बाख्रा पाल्दा लागत बढी, नाफा कम हुने समस्या थियो। क्रस बिडिङबाट उत्पादन भएका बाख्राहरूले किसानलाई नाफा दिन थालेको छ। यो विषयमात्रै हेर्दा त राष्ट्रिय बाख्रा पालन अनुसन्धान कार्यक्रमको कामको प्रभाव राम्रो देखिन्छ,’ उनले भने, ‘हाम्रो देशमा सयौं वर्षदेखि रहेका स्थानीय रैथाने बाख्राको संरक्षणमा जस्तो काम गर्नुपर्दथ्यो त्यो चाहिँ हुन सकेको छैन। विदेशी बोका ल्याएर क्रस ब्रिडिङमा मात्रै जोड दिँदा स्थानीय नश्ल लोप हुँदै जाने खतरा छ।’
डा.भट्टराईले अनुसन्धानका लागि आवश्यक पर्ने जनशक्ति असाध्यै कम हुँदा आशातित प्रगति हासिल हुन नसकेको बताए।
‘सकेसम्म नार्कमा रहनै नचाहने, रहेका दक्ष जनशक्ति पनि काठमाडौं केन्द्रित हुने, उच्च शिक्षा अध्ययनका लागि भनेर विदेश जाने, फर्केर नआउनेलगायतका समस्याले आवश्यक जनशक्ति भएनन्। यसले चाहिएको जस्तो अनुसन्धान हुन सकेको छैन,’ उनले भने।
२०७६ सालमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य श्रृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा वासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन् तथा जैविक प्रविधि व्यवस्थापनलगायतका विषयमा दर्जनबढी देशका विज्ञहरुको सम्मेलन चितवनमा भएको थियो।
उक्त सम्मेलनपछि चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा बाख्राको स्रोत केन्द्र स्थापनागरी एक जना शिक्षकलाई पिएचडी पढाउन थालियो।
‘ठूलै लगानीमा स्रोत केन्द्र स्थापनागरी स्थानीय किसानलाई सेवा पनि दिने, पिएचडी पनि गराउने कार्य थालनी भएको थियो तर सफल हुन सकेन,’ डा.भट्टराईले भने, ‘बाख्रामा रोग फैलिएर कार्यक्रम नै प्रभावित बन्यो। लगानी खेर गयो।’
उनले स्रोतलाई एकीकृतगरी बल लगाउन सकेमात्र अनुसन्धान सफल हुन्छ भन्ने पाठ त्यसबाट सिकेको बताए।
‘अनुसन्धानका लागि बजेट असाध्यै कम छुट्टाइन्छ, त्यो पनि छरिएर जाँदा प्रभावकारी भएन,’ भट्टराईले भने, ‘बजेटलाई एकीकृत गरेर अनुसन्धानलाई जोड दिन सके बल्ल राम्रो परिणाम निस्कन सक्छ।’