देशका ठूला सहरका स्थानीय सरकार कतै ठेला खोसेर, कतै नाङ्लो पसलमा सामान बेच्न प्रतिबन्ध लगाएर ‘सहर व्यवस्थित बनाउने’ अभियानमा छन्।
संघीय राजधानी काठमाडौंदेखि प्रदेश नम्बर १ को राजधानी विराटनगरसम्मै यो अभियान घरी चल्दै घरी थामिँदै गरिरहेको छ।
ठिक यहीबेला सुदूरपूर्वको इलामस्थित रोङ गाउँपालिका भने गाउँबासीले घरघरै उत्पादन गरेको साग खरिद गरेर गुन्द्रुक उत्पादन अभियानमा जुटेको छ।
उसले उद्देश्य राखेको छ- गुन्द्रुकको बजार अपार छ। त्यही अपार बजारमा आफ्नो उत्पादन पठाउने हो। त्यसबाट हुने आम्दानी किसानलाई फिर्ता दिने हो।
गुन्द्रुक बजार पुर्याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने लगायतका बहुआयामिक फाइदा हुने देखेर गुन्द्रुक उत्पादन अभियान थालिएको गाउँपालिकाको भनाइ छ।
जनता र स्थानीय सरकारबीच सहकार्य स्थापना गरेर उत्पादनमा जोडिने लक्ष्यसहित सुरु भएको गुन्द्रुक उत्पादन अभियानले एक महिना पार नगर्दै गाउँका किसान उत्साहित देखिन्छन्। कहिले भाउ नपाएर सस्तोमा साग बेच्ने अनि कहिले नबिकेर चौपायालाई खोले पकाएर खुवाउने किसानको बाध्यता पनि धेरै मात्रामा अन्त्य भएको छ।
'अहिले त हामी दिनभरी साग टिपेर कतिबेला गाउँपालिकाको गाडी लिन आउँछ भनेर पर्खेर बस्छौं,' रोङ गाउँपालिका ६ का भीम प्रधानले भने, 'अहिले साग खेर जाला भन्ने चिन्ता छैन।'
उनकाअनुसार पछिल्लो एक महिनाभित्रमा उनले ५ सय केजी रायोको साग गाउँपालिकाले सञ्चालन गरेको गुन्द्रुक फ्याक्ट्रीलाई बेचिसकेका छन्।
उनले थोरै क्षेत्रफलमा साग रोपेका कारण थोरै बेचेका हुन्। त्योभन्दा धेरै क्षेत्रफलमा साग लगाएका उनका छिमेकीहरूले त्योभन्दा धेरै बिक्री गरिसकेका छन्।
‘पहिला जस्तो कसलाई बेचौं भन्ने चिन्ता यसपालि भएन’, प्रधानले भने, ‘कुन व्यापारीले कसलाई धेरै कसलाई थोरै दाम दियो भन्ने पनि भएन। राम्रो हुँदोरहेछ।’
स्थानीयबासीका अनुसार रोङ गाउँ हरियो सागसब्जी उत्पादनको उर्वर थलो हो। तर भौगोलिक विकटता र यातायातको सहज अवस्था नहुँदा कृषि उत्पादन सजिलै बजार पुग्न सक्दैन। यसको असर हिउँद–बर्खा दुबै सिजनमा देखिने गरेको छ।
हिउँदमा यातायातका साधन चल्ने हुँदा व्यापारीहरू गाउँ त आइपुग्छन् तर ढुवानी खर्चका नाममा सस्तो खोज्छन्। आफैं बजार लिएर जाँदा उत्तिकै खर्च हुने भएपछि किसान व्यापारीले भने अनुसारको भाउमा उत्पादन बेच्न राजी हुन्छन्। यसो गर्दा किसानको लागत नउठ्ने त छँदैछ, फाइदा जति व्यापारीले मात्रै पाउने अवस्था हुन्छ।
बर्खाको सकस झन् धेरै छ। भर्खरै बन्दै गरेको बाटो बर्खामा हिलाम्ये हुन्छ। रातोमाटो सहितको सडक हिलोले भरिएपछि हम्मेसी ढुवानीका साधन चल्दैनन्। त्यसबेलाका उत्पादन सजिलै बजार पुग्दैनन्। इस्कुस र फर्सी त चौपायाकै लागि फलाए जत्तिकै हुन्छ।
हिउँदमा हुने सागको अवस्था पनि त्यस्तै थियो। आफूले खाएर उभ्रिने साग थोरै मात्रै बजार पुग्थ्यो। भने जसरी दाम पाउनै मुश्किल थियो।
गाउँपालिकाले गुन्द्रुक उत्पादन अभियान सुरु गरेपछि भने सबै गाउँलेले समान मूल्य पाएका छन्। उत्पादनपछि गाउँपालिकाले अनुदानको पनि प्रबन्ध गरेको छ। यसले सागमा गरेको मिहेनत खेर नगएको किसानको भनाइ छ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास) का अनुसार गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकेजी १० रुपैयाँ निर्धारण गरेको छ।
साग गाउँपालिकाको फ्याक्ट्रीलाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ। त्यस्तै गुन्द्रुकमा प्रतिकेजी ८० रुपैयाँ अनुदानको व्यवस्था छ। त्यो पनि अन्ततः किसानकै भागमा पर्ने गाउँपालिकाको भनाइ छ।
'यसरी किसानले अब सागको मूल्य नै कम्तीमा प्रतिकेजी १६ रुपैयाँ पाउने स्थिति छ,' अध्यक्ष स्याङ्बोले भने, 'गुन्द्रुकबाट हुने आम्दानीको हिस्सा कति पर्छ, त्यो बजार पठाउन थालेपछि थाहा हुनेछ। यसले पहिले पाउनेभन्दा किसानले धेरै मूल्य पाउने अवस्था छ।'
रोङ ५ की मेनुका राई रायोको साग प्रतिकेजी १६ रुपैयाँमा बिक्नु स्थानीयबासीका लागि फाइदाको कुरा भएको बताउँछिन्। 'गाउँमा आइपुग्ने व्यापारीले झण्डै एक केजीको मुठा पार्न लगाएर प्रतिमुठा बढीमा आठ रुपैयाँसम्म दिन्थे,' उनले भनिन् 'अहिले त सुरुमा एक केजीको १० रुपैयाँ पाइन्छ। गाउँपालिकाले थप ६ रुपैयाँ अनुदान दिने भनेको छ। यसले पहिलेभन्दा फाइदा भएको छ।'
गाउँपालिकाले स्थापना गरिदिएको ‘गुन्द्रुक फ्याक्ट्री’ यतिबेला किसानको साग खपत हुने ठाउँ मात्रै बनेको छैन, स्थानीयबासीका लागि कौतुहलको केन्द्र पनि बनेको छ। त्यसैले अचेल हरेक दिन बोरामा, झोलामा साग लिएर रोङ–३ को कोल्बुङस्थित गुन्द्रुक फ्याक्ट्रीसम्म आउनेहरूको लर्को लाग्ने गरेको छ। धेरै त रमिता हेर्न नै झुम्मिने गरेका छन्।
आफैंले चुनेको स्थानीय सरकारले गाउँमा गुन्द्रुक फ्याक्ट्री खोल्ने योजना सुनाउँदा रोङका धेरै सर्वसाधारणले नाक खुम्च्याएका थिए। हरेक हिउँदमा घर–घरैमा सजिलै उत्पादन हुँदै आएको स्वादिलो र छरितो तरकारी गुन्द्रुकमा सरकार स्वयम् किन लाग्नुपर्यो? बहुसंख्यक रोङबासीको प्रश्नै यही हुन्थ्यो। उनीहरू चाहन्थे, गाउँपालिकाले बरु अलि ठूलो कुनै उद्योग खोलोस्, रोजगारी दिलाओस्।
गाउँपालिका भने पछि हट्ने अवस्थामा थिएन। वार्षिक नीति कार्यक्रम तथा बजेटमै ‘गुन्द्रुक सिन्कीको ब्रान्डिङ गरिनेछ’ भनिसकेको गाउँपालिका कुनै सहकारीमार्फत यो अभियान अघि बढाउने सोचिरहेको थियो। गाउँसभाबाट पारित योजना सकेसम्म छिटो कार्यान्वयनमा लैजाने हुटहुटीमा थिए अध्यक्ष मनिकुमार स्याङ्बो।
त्यसैले यो अभियान चलाउन तत्पर सहकारी संस्था खोजीमा थियो गाउँपालिका। त्यहीक्रममा अध्यक्ष स्याङ्बोले देवानछाप कृषि सहकारी संस्थालाई यो कार्यक्रम अघि बढाउन आग्रह गरे। सहकारीका सन्चालकहरु सुरुमा हच्किए।
'फ्याक्ट्री खोल्ने त्यो पनि गुन्द्रुकको भन्ने भाव धेरैमा पाइएको थियो,' अध्यक्ष स्याङ्बोले सुनाए, 'तर, हामी त्यही गुन्द्रुकलाई माध्यम बनाएर स्थानीय सरकार र जनताबीच सहकार्य गर्न चाहन्थ्यौं। त्यस्तो सहकार्य जसले स्थानीयबासीलाई उत्पादनको कामसँग जोडोस्। अहिले प्रारम्भिक रुपमा राम्रो संकेत पाइएको छ। यसले आशा जगाउन थालेको छ।'
उनकाअनुसार ग्रामीण अर्थतन्त्र बलियो बनाउन र उत्पादनपछिको सबै पैसा गाउँमै रहने एउटा उपयुक्त माध्यम गुन्द्रुक हुने ठहर गरेर यो कामको थालनी भएको हो।
'अहिले हामीले गुन्द्रुक सिन्कीमा काम गरेका छौं। आउँदा वर्षहरुमा तरुलको अन्य तरकारीहरुको पनि आम्दानी निश्चित हुने योजना ल्याउनेछौं,' उनले भने 'यी सबै काममा गाउँपालिकाले बलियो भरथेग गर्नेछ, नेतृत्व चाहिँ सहकारीमार्फत समुदायको हुनेछ। यसले हाम्रो पालिकाको अर्थतन्त्र मजबुत पार्नेछ।'
उनले थपे 'गाउँका हरेक घरमा एक–एक डोको तरुल, एक एक डोको साग छ। त्यति तरुल वा साग बोकेर उनीहरु बजार पुग्दा किसान घाटामा जान्छन्। तर, गाउँका सबै किसानको उत्पादन एकत्रित गर्ने र एकै ठाउँबाट बजार पठाउँदा त्यो फाइदाकारी हुन्छ। हामीले गुन्द्रुकमा गर्न खोजेको यही हो।'
'यो परियोजनाका लागि गाउँपालिकाले १७ लाख रुपैयाँ विनियोजन गरेको छ, स्वीस सरकारबाट ३४ लाख रुपैयाँ र देवानछाप सहकारीको १५ लाख गरी कूल ६६ लाखको योजना हो,' अध्यक्ष स्याङ्बोले भने 'गुन्द्रुक सिन्की उत्पादन तथा ब्रान्डिङ कार्यक्रमका नाममा योजना अघि बढेको हो।'
देवानछाप साना किसान कृषि उत्पादन उद्योग नाम दिइएको उद्योग कोल्बुङमा स्थापना भएको छ। उद्योग स्थापना भएको दुई महिना भइसके पनि गुन्द्रुक उत्पादन सुरु भएको एक महिना मात्रै भएको छ।
देवानछाप सहकारीका अध्यक्ष बमबहादुर राई सुरुमा गुन्द्रुक भनेर आफू हच्किएको तर अहिले उत्साही बनेको बताउँछन्।
'गुन्द्रुक नाथेको उद्योग जस्तो लागेर सुरुमा हामी हच्केका थियौं,' उनले भने ‘तर, अहिले दैनिक रुपमा कम्तीमा पाँचदेखि सात सय केजीसम्म साग किनेर गुन्द्रुक उत्पादन गरिरहेका छौं। किसानहरु पनि खुसी हुनुहुन्छ। रोङ गाउँपालिकाका ६ वटै वडाका हरेकजसोको बारीबाट साग आइरहेको छ।'
उनका अनुसार आउँदो वर्षबाट अझै धेरै साग खेती लगाउँछौं भन्नेहरुको संख्या ज्यादै धेरै भइसकेको छ।
यसरी क्षेत्रफल बढाएर साग लगाउँछौं भन्नेहरुको संख्या बढ्नु किसानमा छाएको उत्साहको प्रमाण भएको बताउँदै राईले गुन्द्रुक उत्पादनको सिलसिलामा हुने आम्दानी सबै गाउँमै भित्रने पनि सुनाए।
‘साग लगाउन बीऊ गाउँपालिकाले दिन्छ, साग गाउँलेले सहकारीलाई बेच्ने हो। गाउँपालिकाले अनुदान दिएको छ,' उनले भने 'अनि गुन्द्रुक फ्याक्ट्रीमा सबै स्थानीयबासीले काम पाएका छन्। खर्च हुने धेरै पैसा श्रममा हो। श्रम गर्ने सबै गाउँकै भएपछि पैसा गाउँमै रह्यो नि!’
अहिले फ्याक्ट्रीमा मात्रै १८ जनाले दैनिक काम गरिरहेको राईले जानकारी दिए। यसरी १० लाखको गुन्द्रुक बेच्दा कम्तीमा ८ लाख रुपैयाँ गाउँमै छिर्ने उनको दाबी छ।
योजना कार्यान्वयनको पहिलो वर्ष भएका कारण यसपटक रायोको मात्रै गुन्द्रुक उत्पादन भइरहेको छ। यसबीचमा ३ सय केजी गुन्द्रुक उत्पादन भइसकेको छ। यसपटक आठ सय देखि १ हजार केजी पुर्याइने अध्यक्ष स्याङ्बोले बताए।
अहिले गाउँपालिका गुन्द्रुकको बजारीकरणका लागि तयारीमा छ।
‘प्याकेजिङ गर्नेदेखि बजार पठाउनलाई अनुज्ञापत्र लिने लगायतका कामहरु सुरु भइसकेको छ, हामी निरन्तर छलफल गर्ने, योजना बनाउने गरिरहेका छौं’, उनले भने ‘सम्भवतः अबको महिना दिनभित्रैमा हामी बजार पठाउन थाल्नेछौं। त्यसअघि नै सबै अध्ययन गरेर मूल्य निर्धारण पनि हुनेछ।’
यसरी तयार हुन्छ गुन्द्रुक
तराई होस् या पहाड, नेपालका अधिकांश ठाउँमा हरेक हिउँदमा घर–घरै गुन्द्रुक सिन्की उत्पादन हुन्छ। साग र मुलालाई सुकाएर कुनै भाँडा अथवा खाल्डोमा खाँदेर अमिलो पार्ने अनि निकाले जसरी नै रोङमा गुन्द्रुक उत्पादन हुन्छ।
फरक कति भने यहाँ प्रविधिको उपयोग गरिएको छ। खाद्य प्राविधिकहरूको प्रत्यक्ष निगरानीमा उत्पादनको काम भइरहेको छ।
रोङ गाउँपालिकाकी खाद्य प्राविधिक दिक्षा भट्टराईका अनुसार सबैभन्दा सुरुमा किसानले बारीबाट पठाएको साग एकै ठाउँ भेला पारिन्छ। जम्मा भएको सागलाई पहिले चार–पाँच पटक पानीमा राम्ररी धोइपखाली गर्ने काम हुन्छ।
पखालेर सफा भइसकेको सागलाई ओभानो बनाउनुपर्छ। ओभानो पार्न विशेष व्यवस्था गरिएको छ। ओभानो बनाएपछि त्यसलाई ओइलाउने र ओइलाएको साग काटेर मसिनो टुक्रा पारिन्छ।
काटेर टुक्रा भएको सागलाई त्यसपछि तीन वटा ट्रष्टमा राखेर ४ देखि ५ घन्टा चिसो हावा र ६ घन्टा जति तातो हावा दिने व्यवस्था मिलाइएको छ। 'सागमा ९० प्रतिशतसम्म पानीको तत्व (मोस्चर) हुन्छ,' उनले भनिन् ‘त्यसैले चिसो र तातो गरेर १२–१३ घन्टा हावा दिएपछि रोलिङ गरेर ड्रममा खाँद्ने काम हुन्छ। ड्रममा खाँद्ने बेलामा कल्चर पनि गर्छौं।'
कल्चर कसरी गर्ने?
भट्टराईले सुनाइन्, 'गाउँघरतिर दही जमाउनका लागि जोडन हालिन्छ नि, हो त्यस्तै थोरै–थोरै अमिलो गुन्द्रुक हरेक ड्रममा राखेर साग खाँद्नुपर्छ। त्यसपछि २८ डिग्री तापक्रम भएको वातानुकुलित कोठामा ती ड्रमहरु राख्छौं।'
यसरी ड्रममा खाँदेको गुन्द्रुकको अमिलोपन ९पिएच० मापनको काम खाँदेको चौथो दिनबाट सुरु हुन्छ। '४, ५ र ६ दिनसम्म लगातार अमिलोपन नाप्छौं, खाएर चाख्छौं पनि यसरी ६ दिनपछि तयार भएको गुन्द्रुक निकालेर फेरि ओभानो बनाउने काम गर्छौं। त्यसक्रममा दुई वटा ड्रायर मेसिन हुन्छ, एउटा रिभल्भिङ र अर्को क्याबिनेट ड्रायर,' भट्टराईले सुनाइन् 'रिभल्भिङ ड्रायरमा १ सय डिग्री तापक्रममा २–३ घन्टा सुकाउँछौं। पत्ताको भागलाई चाहिँ क्याबिनेट ड्रायरमा २ घन्टा २५ डिग्री तापक्रममा हाल्छौं। यो सबै प्रक्रिया पूरा गरेपछि हाम्रो गुन्द्रुक तयार हुन्छ।'