बढ्दो शहरीकरण र व्यस्त जीवनशैलीका कारण मान्छे प्रकृतिबाट टाढिँदै गइरहेको छ। त्यसैले गर्दा दिनदिनै शारीरिक र मानसिक समस्या झेल्नुपरिरहेको छ।
मान्छेलाई यस्तो समस्याबाट मुक्त गराई प्राकृतिक जीवनशैलीमा बाँच्न सिकाउने उद्धेश्यले मध्यपुर थिमि नगरपालिकाको धुन्चे हाइटमा एक जोडी युवाले ‘अर्गानिक कृषि पाठशाला’ चलाउँदै आएका छन्।
रावाबेंसी, खोटाङका योग तथा कृषिविज्ञ नरेन्द्र श्रेष्ठ र प्रकृतिप्रेमी समूह ललितपुरकी उचित आहार, विहार र विचार (उआविवि) प्रशिक्षक सरिता डंगोल मिलेर उदाहरणीय काम गर्दै आएका हुन्। प्राकृतिक स्वास्थ्य विज्ञानमार्फत स्वस्थ्य समाज निर्माण अभियानमा होमिएका दुवै युवा साँढे दुई वर्ष अघि वैवाहिक बन्धनमा बाँधिएका हुन्।
उनीहरूको घरभित्र र बाहिर थरिथरिका फूल, तरकारी र फलफूल रोपिएको छ। घर नजिकै बारीमा पनि अर्गानिक खेती गरिएको छ। त्यहाँ साग, लसुन, काउली, धनियाँ, जडीबुटी, फूल, मेवा, केरा आदि उत्पादन गरिएको छ।
उचित व्यवस्थापन गर्न सके कौसी खेतीबाट परिवारका लागि तरकारी उत्पादन गर्न सकिने नरेन्द्र बताउँछन्। ‘हामी भान्छाबाट निस्कने फोहोरलाई मल बनाउँछौं’, उनले भने, ‘त्यसलाई कौसी र बगैंचामा प्रयोग गर्छौं।’
उनी मिहिनेती छन्। बिहानैदेखि बारीमा खटिन्छन्। गोडमेल गर्छन्। जैविक मल बनाउँछन्। बोट विरूवा रोप्छन्। उनलाई जीवनसाथी सरिताले सघाउँछिन्।
उनीहरूको बगैंचा र घरमा पुग्नेहरू चकित पर्छन्। अनि सबैजनाले उनीहरूको मिहिनेतको तारिफ गर्छन्। उनीहरू अर्गानिक तरकारी तथा फलफूल उत्पादनमा मात्र सिमित छैनन्, स्वास्थवर्द्धक शाकाहारी खाना बनाउन पनि सिपालु छन्।
पछिल्लो समय उनीहरूले हरेक शनिबार अर्गानिक करेसाबारी तथा कौसी खेतीका साथै विभिन्न किसिमका शाकाहारी खाना बनाउने तरिका सिकाउन थालेका छन्।
उनीहरू आफ्नै घरबारीमा सिकाउँछन्। विषादी नहाली प्राकृतिक खेती गर्ने, अर्गानिक मल बनाउने तरिकाका साथै स्वास्थ्यवद्धर्क खाना बनाउने तालिममा सहभागि भएकाहरू उत्साहित बनेका छन्।
उनीहरूले चिनी र अन्डा विनाको केक बनाउन सिकाउँछन्। आँटा र केराको प्रयोग गरेर बनाइएको केक स्वादिलो र स्वास्थ्यवर्द्धक हुन्छ। त्यस्तै सिस्नुको सुप, ब्राउन राइस, च्याउको छोयला, स्मुदी, ग्रिन सलाद आदि बनाउन सिकाइन्छ।
‘तालिममा सहभागि हुन सहयोग राशी एक हजार रूपैयाँ बुझाउनुपर्छ’, नरेन्द्र भन्छन्, ‘यसबाट हामी बिहानको खाना र खाजा पनि खुवाउँछौं।’
निरोगी रहन शाकाहारी जीवनशैली उपयुक्त हुन्छ। ‘कतिपयले माछामासु नखाए के खाने भनेर सोध्छन्’, नरेन्द्र भन्छन्, ‘माछामासुलाई बिर्साउने खालका स्वादिला र स्वास्थ्यवर्द्धक परिकार बनाउन हामी सिकाउँछौं।’
लामो समयदेखि योग तथा प्राकृतिक स्वास्थ्यको क्षेत्रमा काम गरेका सरिता र नरेन्द्र उदाहरण बनेका छन्। उनीहरू आफ्नो निवासमै खोलिएको ‘धुन्चेहाइट योग व्यायामशाला’ मा योग तथा ध्यान सिकाउँछन्।
संसारभर कोभिड–१९ को महामारी फैलनु अघिसम्म नरेन्द्र अर्गानिक खेतीसँगै स्वदेशी तथा विदेशीलाई योग सिकाउँथे।
सरिताले पनि प्रकृतिप्रेमी समूहबाट निरोग आनन्दित रहने ज्ञान बाँड्दै आएकी छिन्। उनी योग प्रशिक्षक पनि हुन्।
‘हामीले उचित आहार सेवन गर्न सबैलाई प्रेरित गर्दै आएका थियौं’, सरिताले भनिन्, ‘यहाँ त्यस्तो स्वास्थ्यवर्द्धक खाना कसरी उत्पादन गर्ने भन्ने व्यावहारिक ज्ञान पनि बाँडिरहेका छौं।’
उनीहरूले आफ्नो उत्पादन बिक्रि समेत गर्ने गरेका छन्। आवासीय सुविधा लिएर स्वास्थ्य ज्ञान लिन चाहनेहरूका लागि घरमा तीन वटा कोठा व्यवस्था गरेका छन् भने तरकारी बारीमा पनि एउटा कोठा बनाएका छन्।
‘हाम्रो उद्धेश्य सबै निरोगी रहुन् भन्ने नै हो’, नरेन्द्र भन्छन्, ‘जति प्रकृति नजिक पुग्यो उति आनन्द मिल्छ। हामीले प्रकृतिमा रमाउने प्रयास गरेका हौं।’
सम्पर्क
धुन्चेहाइट योग व्यायामशाला
मध्यपुर नगरपालिका, भक्तपुर
सरिता डंगोल–९८४१५६२१०६
नरेन्द्र श्रेष्ठ–९८५१२१९०२८
हेर्नुहोस् थप तस्बिरहरू