रासायनिक विषादीले दीर्घरोग बढाउने बुझेपछि इलामका किसानले रासायनिक विषादी प्रयोगलाई क्रमशः घटाउँदै लैजान थालेका छन् ।
रासायनिक विषादी प्रयोगकै कारण आफूले उत्पादन गरेको कृषि उपज बिक्न छोडेपछि र विषादीकै कारण सिङ्गो कृषि क्षेत्र बदनाम बन्दै गएपछि किसानले रासायनिक विषादी प्रयोग घटाउन थालेका हुन् ।
जिल्ला समन्वय समिति इलामले जिल्लाका सबैभन्दा बढी रासायनिक विषादी प्रयोग हुने क्षेत्रको सूची तयार गरी जैविक विषादी प्रयोग गर्न किसानलाई सुझाव दिएको छ ।
समितिको २० औं परिषद्ले रासायनिक विषादी कम गर्दै लैजाने नीति लिएको र २१ औं परिषद्ले पनि त्यसलाई निरन्तरता दिएको छ ।
यस्तै, होटल एसोसिएसन इलामले समेत उक्त नीतिलाई सहयोग पुर्याउँदै जिल्लाका होटल व्यवसायीले किसानको अर्र्गानिक उत्पादन मात्र किन्ने निर्णय गरेपछि किसानले रासायनिक विषादी प्रयोगलाई घटाउन थालेका हुन् ।
यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जिल्लाका विभिन्न स्थानमा गरेको अध्ययनले पनि रासायनिक विषादी बढी प्रयोग हुने क्षेत्र र गाउँमा जटिल र दीर्घरोगका समस्या बढी देखिएको प्रतिवेदन सार्वजनिक गरेपछि कृषि उत्पादनमा बढी मात्रामा रासायनिक विषादी प्रयोग गरिरहेका किसान हच्किएका हुन् । कार्यालयको प्रतिवेदनले विषादी बढी प्रयोग भइरहेका ठाउँमा नै क्यान्सर, मिर्गौला, मुटुलगायतका रोगीको सङ्ख्या बढी देखिएकाले कृषि क्षेत्रमा विषादी नियन्त्रण गर्नुपर्ने सुझाव दिएको थियो ।
इलाममा रासायनिक विषादी नियन्त्रणलाई अझ प्रभावकारी बनाउन रणनीति समेत बनाउन थालिएको छ । यहाँ रहेका चिया कारखानाले चलाएको अर्र्गानिक उत्पादन अभियान प्रभावकारी भएपछि रासायनिक विषादीको प्रयोग घटेको हो । “पहिले–पहिले नबुझेर चियाखेती र तरकारीमा विषादीको प्रयोग हुन्थ्यो तर अहिले विषादी प्रयोग शून्यमा झरेको छ,” सोयाङका कृषक दाताराम सञ्जेल भन्छन – “किसानमा बढ्दै गएको जनचेतनाका कारण विषादी प्रयोग कम भएको छ ।”
जिल्लामा आर्थिक वर्ष २०७१÷७२ मा ९५२ लिटर झोल र ७३३ किलो धुलो विषादी प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । आव २०७२÷७३ मा भने ९०० सात लिटर झोल र ६९७ किलो धुलो विषादी मात्र प्रयोग भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक केशरबहादुर मगरातीले जानकारी दिए।
मानव स्वास्थ्य र माटोका लागि समेत हानिकारक मानिएको रासायनिक विषादी प्रयोग घट्दै गएपछि त्यसको सट्टामा जैविक विषादीको प्रयोग हुन थालेको छ । गोदक र फिक्कलको पान्दाममा गरिएको एक परीक्षणमा मानिसको रगतमा नै रासायनिक विषादीको असर देखिएको थियो ।
एकैचोटी रासायनिक विषादी प्रयोग निषेध गर्न समस्या भएकाले विस्तारै घटाउँदै लगेर शून्यमा झार्नुपर्ने प्राविधिक सहायक मगरातीको सुझाव छ ।
उहाँले भन्नुभयो– “इलाममा जैविक विषादीको माग उच्च भए पनि सबै किसानले त्यो पाउनसकेका छैनन् । जिल्ला कृषि विकास कार्यालयले केही बालीको बीउका लागि मात्रै जैविक विषादी उपलब्ध गराइरहेको छ । कार्यालयले अदुवा, धान, मकैको बीउ उत्पादनका लागि मात्र जैविक विषादी दिने गरेको छ ।
इलामलाई १५ वर्षमा विषादीमुक्त बनाउने लक्ष्य राखिएको छ । नेपालमा करिब एक हजार ४०० प्रकारका विषादी सूचीकृत छन् । त्यसमध्ये क्लोरडेन, डिडिटी, डाइअल्ड्रिन, इन्ड्रिन, अल्ड्रिन, हेप्टाक्लोर, मिरेक्स, टोकसाफेन, बिएचसी, लिन्डेन, फस्फामिडन, अर्गेनोमर्करी, मिथायल पाराथायन, मेनोक्रोटोफस र इन्डोसल्फान र फोरेटलाई भने सरकारले प्रयोग गर्न निषेध गरिसकेको छ । रासस