व्यावसायिक कृषि तथा व्यापार आयोजनाले पूर्वाञ्चलमा कृषकलाई तेइस करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गरेको छ ।
विश्व बैंकको १७ करोड ७३ लाख र सरकारको पाँच करोड ८१ लाख रुपैयाँ अनुदान वितरण गरिएको आयोजना कार्यान्वयन सहयोग समूहले जनाएको छ । पूर्वाञ्चलका पहाडी जिल्ला सोलुखम्बु, ओखलढुंगा, खोटाङ, संखुवासभा, इलाम, भोजपुरमा चालु आवमा लघु अनुदान तथा मझौला कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध गराइएको हो ।
प्रतिस्पर्धात्मक पूरक अनुदानको व्यवस्थाबाट कृषक समूह, सहकारी संस्था र कृषि व्यवसायीलाई कृषि व्यवसायीकरणको क्षेत्रमा मापनयोग्य नतिजा २–३ वर्षभित्रै हासिल गर्न सक्षम तुल्याउने उद्देश्यले सन् २०१३ देखि सन् २०१८ सम्मका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
पूर्वाञ्चल क्षेत्रीय कृषि कार्यालयका निर्देशक हस्तबहादुर विष्टले मुलुकका सबै जिल्लामा कार्यक्रम सञ्चालन गरिएको बताए। उनले कार्यक्रमको माध्यमबाट किसानको जीवनस्तरमा सुधार भएको देखेरै विश्व बैंकले अनुदानको दायरा बढाएको बताए।
आयोजना कार्यान्वयन समूहका प्रमुख भानुभक्त मैनालीले किसानले गरेको सम्झौताअनुरुप आधा काम सम्पन्न गरेपछि मात्र पहिलो किस्ता दिने गरिएको बताए। उनले छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारीखेती, माछापालन, डेरी, बङ्गुरपालन र कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताए । यस क्षेत्रमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत १५ वटा संयुक्त आयोजना र ४२ वटा उपआयोजना सञ्चालनमा छन् । रासस