स्वदेश तथा विदेशका विभिन्न क्षेत्रको जागिर अनुभव संगालेका बेनी नगरपालिका–३ भकिम्लीका केशव शर्मा निउरेले व्यावसायिक बाख्रापालन थालेका छन्।जागिरे यात्रामा मुलुकका विभिन्न क्षेत्रसँगै आधा दर्जन विदेशमा पसिना बगाएका ३० वर्षीय निउरेले विगत एक वर्षदेखि घरमै व्यावसायिक बाख्रापालन थालेका हुन्।
अरुको देशमा रातदिन काम गर्दा समेत दैनिक गुजारा चलाउनबाहेक अन्य उल्लेख्य प्रगति हासिक गर्न नसकिने निचोडमा पुगेपछि स्वदेशमै आत्मनिर्भर बन्ने अठोटसहित बाख्रापालनमा लागेको युवा कृषक निउरेले बताए । गत वर्षदेखि व्यावसायिक रुपमा असिम आधुनिक बाख्रापालन फर्म सञ्चालन गरेका निउरेको फर्ममा अहिले २५ वटा बाख्रा रहेका छन्।
बोयर क्रस, जमुनापारी, वित्तल, खरीलगायतका स्थानीय र उन्नत जातका बाख्रापालन गरेका उनले फर्मको पूर्वाधार निर्माण, माउ बाख्रा खरिदलगायतको क्षेत्रमा करिब २० लाख बढी लगानी गरीसकेका छन्। बाख्रापालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउने तयारीमा लागेका निउरेले भविष्यमा आफूले उत्पादन गरेका बाख्रालाई स्थानीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने संकल्प गरेका छन्।
‘गत वर्षदेखि गाउँमै व्यावसायिक बन्ने योजनासहित कृषि र पशुपालनको कर्ममा लागेको हुँ, अहिले बाख्रापालनसँगै सुन्तलाखेतीमा पनि लागेको छु, एकीकृत कृषिबाट आत्मनिर्भर बन्न सकिन्छ भनेर कृषि र पशुपालनलाई सँगसँगै अगाडि बढाएको हुँ’ कृषक निउरेले भने। उनले अहिले करिब १० रोपनी बारीमा व्यावसायिक सुन्तलाखेती समेत थालेका छन्।
सुन्तला उत्पादनको हिसाबले पकेट एरिया मानिने भकिम्लीमा उनले सुन्तला खेतीसँगै सुन्तलाको बिरुवासमेत बिक्री वितरणका लागि नर्सरीसमेत स्थापना गरेको बताए। निउरेको सुन्तला बगैँचामा अहिले वार्षिक करिब ६० हजार बराबरको सुन्तला उत्पादन हुँदै आएको छ। केही वर्षअघि रोपण गरेका थप २०० बढी बिरुवाले तीन वर्षपछि उत्पादन दिन शुरु गरेपछि सुन्तलाबाट वार्षिक चार लाख बढी उत्पादन गर्नसक्ने उनको अनुमान छ।
कृषक निउरेले कृषि पेशालाई व्यावसायिक बनाउनका लागि सुन्तलासँगै घाँसका बिरुवा उत्पादनलाई समेत सँगसँगै अगाडि बढाएका छन्। आफूले पालन गरेका बाख्राको लागि आवश्यक पर्ने घाँस विस्तारसँगै अन्यलाई समेत बिक्रीको लागि जिल्ला भूसंरक्षण तथा वन कार्यालयसँगको समन्वयमा विभिन्न प्रजातिका घाँसका बिरुवा उत्पादन शुरु गरेको बताए।
उनले निकट भविष्यमा बाख्रापालनका, फलफूल, घाँससँगै टिमुरखेतीलाई समेत प्राथमिकता दिने योजना बनाएका छन् । साथै उनले बैंकले सुलभ दरमा उपलब्ध गराउने कृषि कर्जाको पहुँच पुग्न सकेमा बाख्रापालन र सुन्तलाखेतीमा लगानी बढाएर थप व्यावसायिक बनाउने योजना रहेको जानकारी दिए। रासस