यातायात व्यवस्था विभागले ८ वटा प्रिन्टरबाट लाइसेन्स (स्मार्ट कार्ड) छपाई सुरु गरेको छ।
पुराना ४ वटासँगै नयाँ ४ वटा प्रिन्टरहरुबाट पनि छपाई सुरु भएको यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर राजकुमार महर्जनले जानकारी दिए।
प्रिन्टर नेपाल ल्याए पनि इन्स्टल हुन नसक्दा छपाई कार्य केही दिन ढिला हुन पुगेको हो। ‘नेपालमा यस सम्बन्धी विज्ञ छैनन्, कम्पनीको मान्छे आएर इन्स्टल गर्न पनि ३/४ दिन लाग्यो’ महर्जनले भने ‘अहिले नयाँ सबै प्रिन्टर सुचारु गरिएको छ।’
यद्यपी नयाँ प्रिन्टरहरुबाट पनि अहिले पुर्ण क्षमता अनुसार छपाई नभएको उनले बताए। यसै हप्ताबाट फुल फेजमा लाइसेन्स प्रिन्ट हुने महर्जनले जानकारी दिए।
‘अहिले ट्रायल पिरियड भएकोले फुल फेजमा छपाई गरेका छैनौँ’ उनले भने। विभागका भएका पुराना ५ प्रिन्टर मध्ये एउटा बिग्रिएको छ। बिग्रिएको प्रिन्टरको सामान नै फेर्नुपर्ने भएको मर्हजनले बताए।
पुराना ४ वटा प्रिन्टरले दैनिक २ हजार लाइसेन्स छाप्न सक्छ भने अहिलेका नयाँ ४ प्रिन्टरले दैनिक ३ हजार छाप्न सक्ने विभागले जनाएको छ।
अहिले विभागले दुई सिफ्ट गरेर बिहान ६ बजेदेखि बेलुका ८ बजे सम्म छपाई गरिरहेको छ। नाइट सिफ्ट पनि गरेर दैनिक छपाई ७ हजार ५ सय पुर्याउने लक्ष्य रहेको महर्जनले जानकारी दिए।
‘दैनिक ७ हजार ५ सय छाप्न सकियो भने साउन भरीमा पेन्डिङमा रहेका सबै कार्ड छपाई हुन्छ’ उनले भने। हाल करिब साढे दुई लाख संख्याको स्मार्ट कार्ड पेन्डिङमा छ।