नेटा अटोले आफ्नो पोर्टफोलियोमा नयाँ गाडी थपेको छ। कम्पनीले पहिलो पटक विद्युतीय स्पोर्ट्स कार ‘नेटा जिटी’ अनावरण गरेको हो।
होजोन अटोको स्वामित्वमा रहेको विद्युतीय सवारी साधन निर्माता कम्पनी नेटा अटो चिनियाँ ब्रान्ड हो। अटो अखबार सिनेभपोस्टका अनुसार कम्पनीले नेटा जिटीको डेलिभरी सन् २०२३ को पहिलो त्रैमासिकभित्रै गर्ने तयारी गरेको छ।
चार सिटर विद्युतीय कार नेटा जिटी सान्हाई प्लेटफर्ममा बनेको दोस्रो मोडल हो। यसभन्दा अघि कम्पनीले नेटा एस सोही प्लेटफर्ममा तयार पारेको थियो।
नेटा अटोले केही समय अघि आफ्नो उत्पादन, विद्युतीय स्पोर्टस् कारको नाम ‘नेटा ई’ राख्ने भनेको थियो। तर गत साता गाडी सार्वजनिक गर्दा कम्पनीले यसको नाम ‘नेटा जिटी’ राखेको हो।
विद्युतीय स्पोर्ट्स कार नेटा जिटीको लम्बाई जम्मा ४,७१५ एमएम, चौढाई १,९८९ एमएम र उचाई १,४१५ एमएम छ। यसको ह्विलबेस भने २,७७० एमएम छ। नेटा एसको तुलनामा भने यो कम हो। नेटा एसमा २,९८० एमएम ह्विलबेस रहेको थियो।
कम्पनीका अनुसार नेटा जिटी सिंगल र डुअल मोटर संस्करणमा उपलब्ध हुनेछ। सिंगल मोटरमा अधिकतम १७० किलोवाट पावर र डुअल-मोटर संस्कणमा ३४० किलोवाट पावर हुने कम्पनीको भनाइ छ।
यसमा सिएटिएल र इभ इनर्जीको लिथियम आइरन फस्फेटसँगै टर्नरी ब्याट्री हुनेछ। नेटा जिटीको ब्याट्री प्याक ६४.२४ किलोवाट आवर, ७४.४८ किलोवाट आवर र ७७.९ किलोवाट आवर गरी तीन विकल्पमा उपलब्ध हुनेछ। यी ब्याट्री प्याकले एक पटकको पूरा चार्जमा क्रमशः ५६० किलोमिटर, ५८० किलोमिटर र ६६० किलोमिटर रेन्ज दिने बताइएको छ।
कम्पनीले हालसम्म नेटा जिटीको सार्वजनिक गर्ने मिती तोकेको छैन। तर गत डिसेम्बरमा होजन अटोका सिइओ जाङ योङले कम्पनीले नेटा जिटीको उत्पादन बढाएर सन् २०२३ को पहिलो त्रैमासिकदेखि नै डेलिभरी समेत गर्ने बताएका थिए। हालसम्म नेटा जिटीको बजार मूल्यबारे पनि कम्पनीले कुनै जानकारी सार्वजनिक गरेको छैन।
कम्पनीले यस विद्युतीय स्पोर्ट्स कारले युवा पुस्तालाई आकर्षित गर्नेमा विश्वास राखेको छ। पछिल्लो समय विश्व बजारमा नेटाले आफ्नो उपस्थिति प्रगतिशील बनाएको बुझ्न सकिन्छ। यसले आफ्नो बजार विस्तार गरिरहेको छ।