नेपालका लागि जीप एसयुभीको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नयाँ एसयुभी ‘मेरिडियन’को बुकिङ खुलाएको छ। कम्पनीले यो एसयुभीको लागि बुकिङ खुलाएसँगै टेस्ट ड्राइभको लागि समेत उपलब्ध गराइरहेको हो।
मेरिडियन प्रिमियम सेगमेन्टको गाडी हो। कम्पनीले यो गाडीको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ तोकेको छ। ग्राहकहरूले पाँच लाख रुपैयाँ तिरेर गाडी बुकिङ गर्न सकिने बिक्री सल्लाहकार सुदर्शन भट्टराई बताउँछन्।
उनका अनुसार ग्राहकहरूले गाडी बुक गरेको २५ देखि ३० दिनभित्र डेलिभरी गरिनेछ। नेपाली बजारमा मेरिडियनको औपचारिक सार्वजनिक घोषणा भने वैशाख अन्तिम साता वा जेठ महिनामा मात्रै गरिने समेत उनले बताए।
जीप कम्पनीको पहिलो सात सिटर ‘फोर बाइ फोर’ क्षमताको एसयुभी हो। यतिबेला कम्पनीले मेरिडियनको भेरियन्ट लिमिटेड (ओ) टेस्ट ड्राइभको लागि उपलब्ध गराएको हो। ग्राहकहरूले यही भेरियन्ट बुकिङ गर्न सक्ने हुन्।
यसमा २.० लिटरको मल्टिजेट डिजेल इन्जिन रहेको छ। यसमा १९५६ सिसी डिस्प्लेसमेन्टको इन्जिन जडित छ जसले ३७५० आरपिएममा अधिकतम १६७.६७ बिएचपी पावर र १७५०-२५०० आरपिएममा ३५० एनएम टर्क जेनेरेट गर्छ।
मेरिडियनको लम्बाई ४,७६९ एमएम, चौढाई १,८५९ एमएम र ह्विलबेस २,७८२ एमएम छ। यो एसयुभीमा १८ इन्चको अलोय ह्विल दिइएको छ।
मेरिडियनमा ६० लिटर क्षमताको इन्धन ट्यांक दिइएको छ भने प्रतिलिटर १५ देखि १६ किलोमिटर माइलेज दिने बताइएको छ। मेरिडियनमा रहेको इन्जिन बिएस-६ कम्प्लायन्टमा आधारित छ। गाडीको टप स्पिड १९८ किलोमिटर प्रति घण्टा हुनेछ।
सुरक्षाको लागि मेरिडियनमा एन्टी-लक ब्रेकिङ प्रविधि, सेन्ट्रल लकिङ, ६ वटा एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल सिट, क्र्यास सेन्सर, टायर प्रेसर मनिटर, इबिडीसहितको हाइड्रोलिक ब्रेक असिस्ट, विद्युतीय स्टेबिलिटी कन्ट्रोल लगायत विशेषताहरू छन्। साथै, स्पीड अलर्ट, रिअर क्यामेरा, हिल डिसेन्ट कन्ट्रोल र हिल असिस्ट जस्ता फिचरहरू पनि समावेश गरिएको छ।
मेरिडियनमा १०.१ इन्चको टच स्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कार प्ले कनेक्टिभिटी र वायरलेस फोन चार्जिङ जस्ता विशेषता पनि छन्।
मेरिडियनकोबारे थप बुझ्न, बुकिङ गर्न वा टेस्ट ड्राइभको लागि ग्राहकहरूले कम्पनीसँग सम्पर्क राख्न सक्नेछन्।