चितवनको भरतपुर महानगरपालिकाले मुख्य सडक क्षेत्रमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाउने भएको छ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार साउन ५ गतेबाट लागू हुनेगरी उक्त सवारी साधन मुख्य सडक क्षेत्रमा सञ्चालनमा रोक लगाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिइन्।
सडकमा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरण गर्न जरुरी रहेकाले ई–रिक्सा, अटो– रिक्सा र टेम्पुलाई मुख्य सडक क्षेत्रमा सञ्चालन रोक लगाइएको दाहालले बताइन्।
उहाँका अनुसार भरतपुर महानगरमा पर्ने पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नारायणगढ–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालन रोक लगाइएको हो । भित्री सडकबाट अन्यत्र जानका लागि भने वारपार गर्न तोकिएको स्थानबाट क्रसरोडसमेत तोकिएको महानगरपालिकाले जनाएको छ।
यसअघि पार्किङ व्यवस्थापन र फुटपाथ व्यवस्थापनमा महानगरपालिका सफल भएको दाबी गर्दै प्रमुख दाहालले तत्कालका लागि केही समस्या भए पनि दीर्घकालका लागि यो निर्णय महत्वपूर्ण हुने बताइन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमले जिल्लामा यस्ता तीनपांग्रे सवारी करीब तीन हजारको हाराहारीमा रहेको जानकारी दिए।
पछिल्लो समयमा साना सवारीबाट दुर्घटना बढेको भन्दै उनले तीनपांग्रे सवारी दुर्घटनापछि धेरैजसो भाग्ने गरेको स्मरण गरे। एउटै चालकले पटकपटक नियम उल्लंघन गरेको फेला परेकोसमेत उनको भनाइ छ।
चालु आवमा नियम उल्लंघन गर्ने तीन हजार ८७३ तीनपांग्रे सवारीलाई कारबाही गरिएको छ । चितवनका प्र्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ई–रिक्साहरु व्यवस्थापनसँगै साना चारपांग्रे सवारीको संख्या राजमार्गमा बढ्नसक्ने भएकाले यसतर्फपनि सचेत हुनुपर्नेमा जोड दिए।