सरकारले घुमाउरो तरिकाबाट खारेज भइसकेका यातायात समितिलाई आफ्ना बैंक खाताबाट पैसा झिक्ने अनुमति दिएको छ। यो अनुमतिसँगै यातायात समितिहरुले आफ्नो बन्द रहेको बैंक खाताबाट पैसा झिक्न पाउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार सूचना जारी गर्दै यातायात क्षेत्रसँग सम्बन्धित बैंक खाता रोक्का रहेका विभिन्न संघ संस्था, समितिहरुले सवारी दुर्घटनाका घाइतेको उपचार खर्च, संघसंस्थामा कार्यरत कर्मचारीको तलब, बिजुली, पानी लगायतका खर्चका लागि बैंक खाताबाट रकम झिक्न पाउने गरी सूचना जारी गरेको हो।
पैसा झिक्नको लागि संस्थाले पुरा गर्न बाँकी अनिवार्य दायित्वको एकीन विवरण ठोस प्रमाण सहित सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
गत असार मसान्तमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पत्रकार सम्मेलनको क्रममा यातायात समितिको खाताबाट पैसा झिक्न मिल्ने व्यवस्था गरिने बताएका थिए।
उनले दुर्घटना वा मृत्यु भएको खण्डमा क्षतिपूर्ति गर्न व्यवसायीलाई असहज भएको अवस्थामा तथा कर्मचारीलाई तलव खुवाउन, भाडा र संस्थाको ऋण तिर्न पैसा झिक्न सकिने व्यवस्था हुने बताएका थिए।
यसअघि सरकारले यातायात समितिहरु खारेज गर्दै तिनीहरुका सम्पूर्ण बैंक खाता बन्द राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। सोहीअनुसार राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन जारी गर्दै समितिका सम्पूर्ण खाताहरु अर्को निर्णय नभएसम्म बन्द गर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकको निर्देशनपछि समितिका खाताहरु वैशाख २१ गतेदेखि निश्क्रिय भएका थिए।