करिव डेढ महिनादेखि बन्द ए, के र बी वर्गका सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ को आवेदन आइतबारबाट खुलेको छ। साउन १ गतेबाटै खुल्ने भनिए पनि १३ दिनपछि मात्र आवेदन खुलेको हो।
यातायात व्यवस्था विभाग लाईसेन्स छपाईमा मात्र केन्द्रित रहँदा आवेदन खुलाउन केही ढिलासुस्ती भएको प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए।
आवेदन बन्द हुँदा ट्रायल दिन भनेर बसेकाहरु प्रत्यक्ष मारमा परेका थिए।
लाइसेन्सका लागि आवेदन दिन चाहनेले अनलाइनबाटै फारम भर्नुपर्नेछ। भरेको फारम प्रिन्ट गरी फारममा उल्लेखित समयमा तोकिएको कार्यालयमा गई बुझाउनुपर्दछ।
६ वटा प्रदेशमा आवेदन खुलेपनि प्रदेश नम्बर २ मा भने आवेदन खुल्न सकेको छैन। प्रदेश सरकारले नै लाइसेन्सको व्यवस्थापन गर्न पाउनुपर्ने भन्दै प्रदेश नम्बर २ को सरकारले आवेदन रोकेको छ।
शुक्रबार प्रदेशका भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले कार्यालय प्रमुखहरुलाई बोलाएर प्रदेशको नीति नियम अनुसार कार्य संचालन गराउन निर्देशन दिएका कारण आवेदन खुलाउन नसकिएको यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख कोपेन्द्र कुमार यादवले जानकारी दिए।
यता विभगले भने प्रदेश सरकारले ऐन अनुसारकै कुरा गरेपनि प्रदेश सरकारको पुर्वाधार तयार नभएका कारण केन्द्रले नै हेर्नु परेको जनाएको छ।
प्रदेश नम्बर २ मा जनकपुर, लाहान र वीरगंज गरी तीन वटा कार्यालयमा लाइसेन्स आवेदन रोकिँदा हजारौं सेवाग्राही मारमा परेका छन्। विभागले झण्डै डेढ महिनाअघि आर्थिक वर्षको राजश्व संकलनको हिसाव गर्न भन्दै लाइसेन्सको आवेदन देशभर बन्द गरेको थियो।