साना टेम्पोलाई हटाएर साउन २५ गते शुक्रबारदेखि गोंगबु– सिनामंगल रुटमा ठूला सवारी साधन चल्ने भएका छन्। सो रुटमा दिगो शहरी यातायात प्रालिले १७ वटा ठूला बस संचालन गर्ने भएको हो।
यी बस एयरपोर्ट–सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्ली बजार- रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन्। फर्किने क्रममा नयाँ बसपार्क–गोंगबु– सामाखुसी–गल्कोपाखा– लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर– सिनामंगल हुँदै एयरपोर्टसम्म पुग्नेछन्।
ठूला बस संचालनका लागि सम्पूर्ण तयारी पुरा भएको प्रालिका सचिव लालप्रसाद गुरागाईंले जानकारी दिए। कम्पनीले सोही रुटमा बस चलाउने तयारीअनुरुप सोमबार बस गुडाएर जिपिएस लगायत अन्य प्रविधिको परीक्षण गरेको छ।
यी बस संचालन भएसँगै सो रुटमा चल्दै आएका टेम्पो तथा माइक्रो बस गरी ६१ वटा अन्यन्त्र स्थानान्तरण गरिएको उनले जानकारी दिए। हाल सिनामंगलदेखि सुन्धारासम्म र नयाँ बसपार्कदेखि सुन्धारासम्म गरी दुई रूटमा टेम्पो र माइक्रो चलिरहेका छन्।
नयाँ बस थपिएसँगै यी रुटमा संचालन हुँदै आएका ३५ वटा टेम्पो र २६ वटा माइक्रो अन्य रुटमा सारिएको छ। अब भने यी दुई रूटलाई एकीकृत गरी एउटै रूट बनाएर बस गुडाउन लागिएको हो।
दुई रुटका कारण डबल भाडा तिर्नुपर्ने झन्झट यसले अन्त्य गर्नेछ भने यात्रा पनि चाँडो हुने कम्पनीले जनाएको छ। उनका अनुसार अझै केही माइक्रोबस र टेम्पो भने यथावत छन्।
‘ठूला बस अझै अपुग भएका कारण साना सवारी साधन सम्पूर्ण रुपमा स्थानान्तरण गर्न सकिएको छैन’ उनले भने ‘बसको संख्या पर्याप्त भएपछि यसअघिको सम्झौताअनुसार सबै टेम्पोहरु विस्थापन हुनेछ।’
कस्ता छन् नयाँ बस ?
बस २६ सिट क्षमताका हुन्। ५० जना यात्रु सहज रुपमा अटाउने भएकाले सो संख्याको अनुमति पाएको छ। जिपिएस प्रविधियुक्त बस भएकाले यात्रुले आफूले यात्रा गरेको स्थान थाहा पाउने छन्।
त्यस्तै एलइडी टिभी, सिसिटिभी, समाउने ह्याङ्गर बसमा राखिएको छ। साथै बस अपांगमैत्री रहेको गुरागाईंले जानकारी दिए। बसमा ह्विलचेयर राख्ने ठाउँ छ।
बसमा कसको लगानी कति ?
गुरागाईंका अनुसार बस खरिद, डिपो निर्माण तथा आवश्यक मर्मत लगायत गरेर १० करोड रुपैयाँको लगानी छ। उत्पादक कम्पनी टाटासँग भएको सम्झौताअनुसार एउटा बसको लागत ४० लाख ९५ हजार परेको छ।
यसका लागि नगर विकास कोषले दिगो सहरी यातायात प्रालिलाई ८ वर्षसम्मको लागि ५ प्रतिशतको सहुलियत ब्याजदरमा कुल लागतको ८० प्रतिशत ऋण उपलब्ध गराएको छ।
अपुग २० प्रतिशत रकममा कम्पनीले ५ प्रतिशत रकम हालेको छ भने काठमाडौं दिगो सहरी आयोजनाले १५ प्रतिशत अनुदान दिएको छ।
‘यो रूटमा गुड्ने माइक्रो र टेम्पो व्यवसायीको भागमा करिब ५० लाख रुपैयाँ परेको छ। अरु रकममध्ये आयोजनाले अनुदान र नगर विकासले सहुलियत दरमा ऋण दिएको छ’, गुरागाईंले भने।