एमजी अर्थात मोरिस ग्यारेजका दुई नयाँ गाडी 'जिएस' र 'जेडएस' नेपाली बजारमा भित्रिएका छन्। एमजी मोटर्स एक बेलायती कार उत्पादक कम्पनी हो। नेपाली बजारमा पारामाउन्ट मोटर्सले गाडीको बिक्री वितरण गर्दै आएको छ।
उत्कृष्ट इन्जिनियरीङ, स्टाईल, सेफ्टी र आरामदायी विशेषतालाई बढवा दिँदै यी नयाँ गाडी बजारमा ल्याइएको कम्पनीको दावी छ।
सेफ्टी एयरब्याग र पावरफुल ईन्जिन गाडीमा रहेकाले एनक्याप अष्ट्रेलियाले क्र्यास टेष्टमा ५ स्टारको रेटीङ्ग दिएको एमजीले जनाएको छ।
एमजी जिएस उत्कृष्ट फुल अप्सन ‘एसयूभी’ हो। यसमा अटोमेटिक हेडल्याम्प देखि क्रुज कन्ट्रोलसम्मको सुविधा छ। रियर पार्किङ सेन्सर र क्यामेरा, डिएबी रेडियो र ब्लुटुथ लगायत एसयूभीमा हुने सुविधा यसमा छ।
जिएस २ लिटर इन्जिन, टर्बो ४ सिलिन्डरमा उपलब्ध छ। यो गाडीले ५३०० आरपिएममा २१८ बिएचपी पावर र २५०० आरपीएममा ३५० एनएम टर्क उत्पादन गर्छ।
यो अल ह्वील ड्राइभ कार हो। यसमा ५५ लिटर क्षमताको इन्धन ट्याङक दिइएको छ। यस एसयूभीको उचाई १६९९ एमएम छ भने लम्बाई ४५०० एमएम छ।
त्यस्तै जेडएस कारमा दिइएको ४ सिलिन्डर पेट्रोल इन्जिनले १०४ बिएचपी पावर र १४१ एनएम टर्क उत्पादन गर्छ। यसको उचाई १६४८ एमएम तथा लम्बाई ४३१४ एमएम छ। यसको ह्वीलवेस २५८५ एमएम छ। यसमा ४८ लिटर क्षमताको इन्धन ट्याङक दिइएको छ।
नक्सालमा एमजीको नयाँ शोरुम
कम्पनीले नक्सालमा अन्तर्राष्ट्रिय स्तरको नवनिर्मित शोरुम आजदेखि संचालनमा ल्याएको छ। शोरुमको एक कार्यक्रमका बीच नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले उद्घाटन गरे।
पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले एमजी विश्वको सबैभन्दा छिटो प्रगति गरिरहेको मोटर कम्पनी मध्येको एक भएको दावी गरे।
नयाँ शोरुम संचालनमा आएसँगै एमजीको महत्कांक्षी योजनामा सहयोग पुग्ने उनले बताए। एमजीले थाईल्याण्डमा आधुनिक टेक्नलोजी जडीत फ्याक्ट्री स्थापना गरिसकेको उनले जानकारी दिए। दक्षिण एसियामा बजार विस्तार गर्न सन् २०१९ को सुरुवातसँगै भारतमा पनि उत्पादनको तयारी रहेको उनले बताए। नक्सालस्थित शोरुमबाट उपभोक्तालाई ब्रान्ड, उत्पादन र सेवाको बिषयमा ज्ञान हासिल हुने अर्यालले बताए।