मंगलबारदेखि सुरु हुने सवारी साधनको बृहत मेला ‘नाडा अटो शो’को तयारी पुरा भएको छ।
अटोमाबाईल्स एसोसिएन अफ नेपाल (नाडा)ले ६ दिनसम्म चल्ने उक्त मेलाको तयारी पूरा भएको जानकारी दिएको छ। नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भोलिदेखि चल्ने मेलामा १३५ वटा स्टल रहने जानकारी दिए।
अर्थमन्त्री डा.यूवराज खतिवडाले मेलाको उद्घाटन गर्ने कार्यक्रम छ। ६२ हजारले मेलाको अवलोकन गर्ने बताउँदै उपाध्यक्ष दुलालले भने, ‘छ दिनसम्म चल्ने मेलामा ५ सय करोडको कारोबार हुने अनुमान गरेका छौँ, त्यो भनेको ४ महिनाको औसत कारोबार हो।’ उनका अनुसार गत वर्ष करिब ३ अर्बको कारोबार भएको थियो।
मेलामा चार पांग्रे तथा दुई पांग्रे सवारी साधन, तिनका पार्टपूर्जा, लुब्रिकेन्टस् लगायतका ७१ वटा संस्थाहरुको उपस्थिति रहनेछ।
नेपालमा गाडीहरुको संख्या धेरै भयो भन्ने तर्क गलत भएको उनले दावी गरे। दुलालले भने, ‘आजको दिनमा पनि १ प्रतिशत नेपाली जनतामा मात्रै गाडीको पहुँच छ। त्यसैले गाडीको संख्या धेरै भएको होइन, सडक कम भएको हो।’
उनले सडक पूर्वाधारको विकासमा लाग्नको लागि सरकारलाई सुझाव दिए। उनले भने, ‘देशमा स्तरीय र राम्रा सडक नै छैनन्। अहिले भएका सडकको पनि समयमै मर्मतसम्भार हुँदैन, उपत्यकाको जाम देखेर आयात कम गर्नुपर्छ भन्ने सोच अधिकारमाथि हनन गर्नु हो।’
सरकारले उद्योगमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए। सवारी साधन सम्बन्धि सम्पूर्ण जानकारी दिने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने यस मेलालाई गाडीहरुको ‘कुम्भ मेला’ को रुपमा समेत लिने गरिन्छ। सरकाले उठाउने सम्पूर्ण करमध्ये ३५ प्रतिशत सवारीसाधनले धान्ने गरेको दुलालले बताए।
‘कर र भन्सारको कारणले धेरै जनताको पहुँचभन्दा बाहिर छ, १० लाखमा राम्रो गाडि किन्न सकिने स्थिति आयो भने ५० प्रतिशत जनताले चढ्नेछन्’ उनले भने। नेपालमा नै गाडी उत्पादन गर्ने बिषयमा सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ।
‘उद्योग खोल्ने वातावरण अहिले नै बनिसकेको छैन, मोटर साइकल, टायरजस्ता उद्योगहरु स्थापना भईसकेका छन्, गाडीको पनि हुनेछ भन्ने विश्वास छ’ उनले भने।
मेलामा विद्यार्थीलाई एक सय ५० रुपैयाँ र अन्यलाई दुई सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।