काठमाडौंको भृकुटीमण्डपमा मंगलबारदेखि नाडा अटो– शो सुरू भएको छ।
सवारी साधनहरूको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गरेको हो।
अटो शोको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले ऋण लिएर गाडी खरिद नगर्न व्यवसायीहरूलाई आग्रह गरे।
उनले ऋण लिएर गाडी खरिद गर्दा मुलुकको अर्थतन्त्र झनै ओरालो लाग्नेतर्फ व्यवसायीहरूलाई सचेत पनि गराए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको अटो मोबाइल्स क्षेत्रको प्रवर्द्धनमा आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरिन्।
उनले मुलुकको व्यापार घाटालाई कम गर्न पनि अटो मोबाइल्स क्षेत्रले योगदान दिनसक्ने पनि स्मरण गराइन्।
शो मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्रान्डका २ पाङग्रे सवारी साधनहरू राखिएका छन्। अटो शोमा यस वर्ष ७१ वटा कम्पनीहरूको सहभागिता रहेको छ। ६ दिनसम्म चल्ने शोमा १ सय ४ वटा स्टल रहेका छन्।
अटोमोबाइल्स क्षेत्रले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा २० प्रतिशत योगदान दिएको छ।