नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएमका मोटरसाइकल सार्वजनिक गरिएको छ। एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान अर्थमुर्भस प्रालि रहेको छ।
प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ड्युअल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन्। आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ।
ईन्डुरो, क्लासिक र एड्भेन्चर टुररको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने कम्पनीको भनाइ छ।
इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको हो। फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो।
कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटारमा शोरुम र वर्कशप तथा चितवन र पोखरामा शोरुम खोल्दैछ। निकट भविष्यमा बुटवल र धरानमा डिलर मार्फत विक्री वितरण गर्ने योजना रहेको कम्पनीले जनाएको छ।