नयाँ ब्रान्ड र कारको आगमनसँगै पछिल्ला वर्षहरुमा नेपाली अटोबजार तीव्र गतिमा विस्तार भइरहेको छ। संसारकै पहिलो एसयुभी भनेर चिनिने जिप ब्रान्डले कम्पासलाई औपचारिक रुपमा नेपाल भित्र्याएको छ।
शक्तिशाली अफरोड एसयुभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो। पहिलो वर्षमै २६ हजारको संख्यामा बिक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ। त्यहीँ जिप कम्पास यो वर्षको नाडा अटो शोको एक आकर्षण बनेको छ।
जिप कम्पास ग्रान्ड चेरोकीको प्रिमियमनेस र रेंगलरको कठोरताको समिश्रण हो। कम्पासको डिजाइन जिपका अन्य एसयुभीसँग मिल्छ। अझ यसलाई ग्रान्ड चेरोकीको सानो रुप भन्दा पनि हुन्छ।
कम्पासमा जिपको सिग्नेचर सेभेन स्लट ग्रिल र दुई छेऊमा ठूला हेडलाइट छन्। डेलाइट रनिङ ल्याम्पले सडकमा कम्पासको उपस्थितिलाई जबरजस्त बनाइदिन्छ।
बम्परमा फग लाइट र डुअल टोन इफेक्ट पनि देख्न सकिन्छ। यसको एसयुभी प्रोफाइलाई १८ इन्चका ठूला चार वटा पाङ्ग्राले झल्काउँछ। डिजाइन ल्याङ्ग्वेज बोल्ड छ।
कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ। १.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्न गर्छ।
पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोम्याटिक गियरबक्स छ। डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल इन्जिन छ।
पेट्रोल भेरियन्ट ४ बाई २ सेटअपमा मात्र उपलब्ध भने डिजेल भेरियन्ट ४ बाई २ र ४ बाई ४ दुवैमा उपलब्ध छ। कम्पास स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ भने यसको मूल्य ६८.५ लाखदेखि ९६.५ लाखसम्म पर्छ।