भृकुटीमन्डपमा ६ दिनदेखि चलेको १३ औं नाडा अटो शो सकिएको छ। करिब ६५ हजारले मेलाको अवलोकन गरेका छन्। नाडा अटोमोबाइल एसोसिएसनले यस पटकको मेला अत्यन्त सफल भएको दावी गरेको छ।
‘अत्यन्त व्यवस्थितका साथ अत्याधिक डिलिङका साथ नयाँ कन्स्पेप्ट कारहरु प्रदर्शन गर्न सक्यौँ, जसले गर्दा मेला अत्यन्त सफल रह्यो’ नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले भने।
सवारीसाधनको बुकिङ तथा कारोबार भएको रकमका विषयमा भने नाडाले केही खुलाएको छैन।
यसैबीच मेलामा ‘बेस्ट सपोर्टिङ स्टल’का रुपमा रिता अटोमोबाइल छनौट भएको छ। त्यस्तै ‘बेस्ट स्टल टु ह्विलर’तर्फको अवार्ड जगदम्बा मोटर्सले पाएको छ। उ टिभिएसको आधिकारिक वितरक हो।
‘बेस्ट स्टल फोर ह्विलर’को अवार्ड भक्सवानको आधिकारिक वितरक पूजा इन्टरनेसनलले पाएको छ। मेलाको अवलोकन गर्नेमध्ये प्रत्येक दिन एक जनाका दरले ६ जनालाई लक्की ड्रमार्फत ‘डोर प्राइज’का लागि छनौट गरिएको छ।