ललितपुर महानगरपालिकाले मुख्य तथा सहायक सडकमा साइकल लेन बनाउने भएको छ। यसका लागि पहिलो चरणमा महानगरको मुख्य सडक कुपण्डोल-लगनखेल रुटमा बन्ने साइकल लेनका लागि काम सुरू गरिसकेको छ।
महानगरपालिकाले कुपण्डोलबाट जाउलाखेल हुँदै लगनखेल र मंगलबजारसम्म साइकल लेन बनाउने कामका लागि ठेक्का पनि लगाइसकेको छ।
२५ लाख रुपैयाँमा रमित कन्ट्रक्सनले ठेक्का पाएको महानगरले जानकारी दिएको छ।
साइकल चलाउनेहरुका लागि सजिलो र सहरी यातायातमा साइकलको महत्व स्थापित गर्न साइकल लेन विस्तार गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
'नगर यातायातमा साइकलको छुट्टै महत्व छ, यही कुरलाई आत्मसात गरेर हामीले लेन बनाउने काम अघि बढाएका छौ' महर्जनले सेतोपाटीसँग भने।
साइकल लेनका लागि अहिलेकै सडकमा विभाजन गर्ने महानगरको योजना छ। सडकको दायाँबायाँ भागतिर साइकल लेनका व्यवस्था गरिने छ।
साइकल लेनसँगै स्मार्ट लाइटको काम पिन अघि बढेको उनले जानकारी दिए।
सडकमा नियमित रूपमा बत्ती बलेपछि चौबिसै घन्टा साइकल चलाउन सजिलो हुने महानगरको विश्वास छ।