‘फादर अफ एसयुभी’ भनेर चिनिने ‘जिप’ ब्राण्ड गत वर्ष नाडा अटो शोमा नेपाल भित्रियो। दोस्रो विश्वयुद्धदेखिको इतिहास बोकेको जिपलाई अमेरिकी सेनाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका थिए।
जिप ब्रान्डको स्वामित्व फिएट क्राइस्लर अटोमोबाइलले लिएपछि जिप भारतको पुनेस्थित प्लान्टबाट निर्माण हुन थालेको हो। जिप इन्डियाको पहिलो उत्पादन जिप कम्पास हो। भारतको पुनेस्थित प्लान्टबाट उत्पादन हुने कम्पास अष्ट्रेलिया, जापान, बेलायत लगायत २६ वटा देशमा निर्यात हुने कम्पनीले जनाएको छ।
जिप नेपाल प्रवेस गरेको १ वर्षमै २ सय भन्दा धेरै विक्रि भएको कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्यले दावी गरे।
नेपालका लागि जिपको आधिकारिक वितरक एमएडब्लु लाइफले हाल जिपको नयाँ भेरियन्ट कम्पास लिमिटेड प्लस नेपाली बजारमा ल्याएको छ। यो तीन भेरियन्टमा उपलब्ध छ। जिपको उत्पादक फियाट्क्रिस्लर अटोमोबाइल्सले गत वर्ष बजार सर्वेक्षण गरेको थियो। सर्वेक्षण पछि कम्पनीले जिपकम्पास लिमिटेड प्लस बजारमा ल्याएको हो।
लिमिटेड प्लस हेर्दा आकर्षक, चढ्दा आरामदायी र पावरफुल रहेको आचार्यले दावी गरे।
यसमा १८ इन्चको एलोय ह्विल दिइएको छ। नयाँ ह्विललाई ‘ब्ल्याक र पोलिस्ड एलुमिनियम फिनिस’दिइएको छ। त्यस्तै यसमा अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइप र अटो डिमिङ इन्साइड रियर भ्यु मिरर पनि समावेस छन्। लिमिटेड प्लसमा दिइएको पानोरामिक सनरुफले गाडीलाई निकै आकर्षक बनाएको छ।
कम्पनीले गाडीको इन्टेरियरमा पनि कुनै सम्झौता नगरेको आचार्यले बताए। सेतो लेदरको सिटले यसलाई प्रिमियम लुक्स दिएको छ।
यसको ड्राइभर सिटलाई आठ तरिकाले ‘इलेक्ट्रिकल्ली एडजस्ट गर्न सकिन्छ भने तिन ओटा ‘मेमोरी फंक्सन’ गर्न मिल्छ। लिमिटेड प्लसमा ८.४ इन्चको टचस्क्रिन जडान गरिएको छ। सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग राखिएको छ।
यो डिजेल र पेट्रोल दुबैमा उपलब्ध छ। १.४ लिटरको मल्टिएयर टर्बो इन्जिनको लिमिटेड प्लसले १६० बीएचपी पावर २५० एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै २.० लिटर मल्टिजेड डिजेल इन्जिनले १७०.६ बीएचपी पावर र ३५० एनएम टर्क दिन्छ।
लिमिटेड प्लस डिजेल टु ह्विल ड्राइभ, डिजेल फोर ह्विल ड्राइभ म्यानुअल र पेट्रोल टु ह्विल ड्राइभ अटोमेटिक अप्सनमा उपलब्ध छ।
कम्पनीले यसको मुल्य लिमिटेड प्लस २.० मल्टिजेट टर्बोडिजेल टु ह्विल ड्राइभको ९७ लाख ९० हजार, लिमिटेड प्लस २.० मल्टिजेट टर्बो डिजेल फोर ह्विल ड्राइभको १ करोड ५ लाख ९० हजार र लिमिटेड प्लस १.४ लिटर मल्टिएयर टर्बो पेट्रोलको ९८ लाख ९० हजार निर्धारण गरेको छ। कम्पनीले यसको खरिदमा ३ वर्ष वा १ वर्षको वारेन्टी प्रदान गरेको आचार्यले जानकारी दिए।
‘ग्राहकको सेवाको लागि हामीले विक्रि पछिको सेवालाई ध्यान दिइरहेका छौ। अहिले भर्खरै २४३६५ सेवा सुरु गरेका छौं। घुम्न जाँद गाडी कही बिच बाटोमा अड्कियो भने हामी ३ सय ६५ दिन २४ घण्टा सेवा दिन्छौ। यसको लागि ९८५११२४३६५ मा फोन गर्नु पर्नेछ’ उनले भने।