यातायात व्यवस्था विभागले सेवाग्राहीलाई लाइसेन्स लिन बोलाएको छ।
विभागले सुचना जारी गर्दै यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमती पत्र एकान्तकुनाबाट २०१८ डिसेम्बर ३१ सम्म जारी तथा नविकरण गरिएका सवारी चालक अनुमती पत्रहरुको छपाई कार्य सम्पन्न भएको जनाएको छ।
राजस्व बुझाएको रसिदको आधारमा साउन १५ गतेसम्म मिनभवन स्थित विभागबाट वितरण हुने र साउन १९ गते देखि यातायात व्प्यवस्था कार्यालय बाट वितरण हुने जनाएको छ।
हाल प्रकृया पूरा गरेका करिव ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन्। लाइसेन्स छापिएको छैन भन्ठानेर सोधखोजनै नगरेको कारण पनि सेवाग्रहीले रसिदको भरमा सवारी चलाउनु परेको विभागले जनाएको छ।
लाइसेन्सको समस्या हटाउन विभागले ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ ल्याउने जिम्मा मद्रास प्रिन्टस लाई दिइसकेको छ। अहिले ल्याउन लागिएको ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने विभागको दावी छ।
विभागको योजना अनुसार नै काम भयो भने ३ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउनेछन्।
हाल विभागमा भएका ६ ओटा मेसिनबाट दैनिक २५ सयदेखि ३ हजार कार्ड प्रिन्ट हुन्छन्। तर आवश्यकता भने करिव ६ हजारको रहेको विभागले जनाएको छ।