सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र काठमाडौं उपत्यकामा विद्युतीय बस चलाउने भएको छ।
राजधानीमा वेवसाइट विमोचन गर्दै कम्पनीले बिजुली बस संचालनमा ल्याउन लागेको जनाएको हो। कम्पनीले पहिलो चरणमा उपत्यकामा सात वटा बिजुली बस संचालन गर्ने भएको छ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले शुरुमा काठमाडौं उपत्यकाको रिङरोडमा विद्युतीय बस संचालन गरिने र क्रमिक रुपमा देशभर विस्तार गर्ने योजना रहेको बताए।
बसका लागि चार स्थानमा चार्ज गर्ने स्टेशन समेत राखिने उनको भनाई छ। विद्युतीय बसको भाडा अनलाइनबाटै तिर्न सकिने थापाले जानकारी दिए। त्यस्तै अग्रिम रकम तिरेर कार्ड लिई बस चढ्न सकिनेछ। यातायात संचालनमा अवरोध खडा गरिएको उनले गुनासो गरे।