सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो भदौ १० गते देखि काठमाडौंको भृकुटीमण्डपमा सुरू हुदै छ। सवारी साधनहरूको समग्र जानकारी दिने उद्देश्यले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा अटो शो आयोजना गर्न लागेको हो।
नाडा अटो शोमा विभिन्न सवारी साधनका आधिकारिक वितरकले शोलाई लक्षित गर्दै सवारी साधन किन्दा छुट तथा अन्य सुविधाका अफरहरु ल्याउने गर्छन्। नाडा अटो शोको तयारीको बारेमा सेतोपाटीका सुधिर भण्डारीले नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष शम्भु दाहालसगँ गरेको कुराकानीको सम्पादित अंश।
नाडा अटो शो को तयारी कस्तो हुदै छ ?
नाडा अटो शो को तयारी राम्रोसगँ भइरहेको छ। पहिले भन्दा अहिलेको ले–आउटमा केही फरक हुन्छ। हामीले स्पेस पनि बढाएका छौ। यसपाली भृकुटीमण्डपको बगैचालई पनि प्रयोग गरेका छौ। पार्किङ पनि यसपाली थप व्यवस्थित गरेका छौ।
अटो शोको खास उदेश्य के हो ?
उदेश्य त ब्राण्डिङ गर्ने र सबैलाई फ्यासिलेटेड गराउने हो। अटोमोवाइल सम्बन्धी जिज्ञासुहरु, ग्राहकहरु, भविष्यमा गाडी किन्ने योजना बनाएकाहरु उहाँहरुलाई एउटै थलोबाट धेरै प्रोडक्टको कम्पेरिजन गर्न सक्ने बनाउने हो। बिक्रिपछिको सेवाको बारेमा बुझ्न सक्नुहुन्छ। बैंकको सहुलियतको बारेमा बुझ्न सक्नुहुन्छ। विभिन्न स्किमहरु जुटाउन सक्नुहुन्छ त्यस्तै म्यानुफ्याक्चर र डिलरहरुले एउटै ठाउँमा धेरै भन्दा धेरै ग्राहकलाई आफ्नो प्रोडक्ट देखाउन सक्छन्। शोमा बिक्रि गर्ने भन्दा पनि हाम्रो उदेश्य ब्राण्डिङ गर्ने नै हो।
यो अटो शो मा नयाँ के पाउन सकिन्छ।
यसपाली नाडा अटो शोको ले–आउट भिजिटर र एक्जिभीटरलाई सहज हुने आउट हुनेछ। स्पेस पहिले भन्दा २० प्रतिशत धेरै हुन्छ। त्याहाँ एउटा ओभरहेड ब्रिज पनि हुनेछ। पोहोर बैंकहरुको सहभागिता थिएन यो वर्ष १२ वटा बैंकको सहभागिता हुनेछ। ठाउँ अभावको कारणले अझैपनि धेरैलाई स्टल दिन सकेका छैनौ। कुल १ सय ७५ स्टलमा १ सय १० ओटा कम्पनीले भाग लिँदैछन्। २२ ओटा ४ पांग्रे, १९ ओटा २ पांग्र, १२ ओटा बैक र ५७ ओटा अटो कम्पोनेन्ट्सहरु सहभागिता हुनेछ।
नाडा अटो शोको खर्च कति लाग्छ?
हाम्रो त न्यूनतम मात्र हुन्छ। मेन खर्च त एक्जभिटरले गर्छ। नडाले गर्ने एक–डेढ करोड खर्च खास्सै ठुलो होइन। सबै कम्पनीको आआफ्नो खर्च गरेको हुन्छ। कसैले ३० लाख गरेको हुन्छ, कसैले ७० लाख गरेको हुन्छ। कसैले ८० लाख पनि गरेको हुन्छ। यो खर्चमा २ पक्षको सहभगिता हुन्छ। नेपालको डिलरले पनि गरेको हुन्छ र उता म्यानुफ्याक्चररले पनि गरेको हुन्छ।
नाडा अटो शो महिला मोडल राखिएकोमा आलोचित हुन्छ नी?
संसारभरको अटो शोमा मोडलहरु राखिएको हुन्छ। आध्यात्मिक रुपमा महिला भनेको प्रेमको प्रतिक पनि हो। कार भन्ने वित्तिकै परिवार जोडिन्छ। त्यो भावलाई जोड्ने भनेको महिलाले हो। भल्गर रुपमा प्रस्तुत गर्नु त भएन तर शालिन रुपमा प्रस्तुत गर्नु त राम्रो हो नी। म्यानुफ्याक्चररहरुको आफ्नै रिक्वायरमेन्ट हुन्छ। हामीले गरेर हुने नगरेर नहुने होइन।
उनीहरुको श्रम शोषण हुन्छ भन्ने पनि सुनिन्छ नी?
हामीले हाम्रा सदस्यहरुलाई नेपाल सरकारको नियमअनुसार पारिश्रमिक दिनुहोस भनेका छौ। हामीले विधि मान्ने हो। उहाँहरुले पनि नेपाल सरकारको नियमअनुसार पारिश्रमिक दिनुभएको छ।
नाडा अटो शोमा टिकट शु:ल्क राखेर अवलोकन गर्न चाहानेहरुलाई किन रोक्ने?
पैसा जोगाउ भनेर टिकट राखेको होइन। हाम्रो ठाउँसानो छ। मासलाई कन्ट्रोल गर्न टिकट राखेका हौ। जसलाई अटोमोवाइलको बारेमा जान्ने साच्चै इच्छा छ उहाँहरुलाई राम्रोसगँ देखाउन र बुझाउन सकियोस भनेर टिकट राखेका हौ। विश्वस्तरिय गाडीहरु आउछन् उनीहरुले हेर्न पनि सकुन र हामीले बुझाउन पनि सकियोस यती मात्र उद्देश्य हो।
यसपाली बैंक राख्नुभएछ तर हेभी इक्युप्मेन्टलाई चाही किन स्थान नदिनु भएको?
पोहोर साल भिजिटरले बैंकको माग गर्नु भएको थियो त्यसैले बैकहरु राखेका हौ। त्यस्तै हेभि इक्युप्मेन्टको सवालमा ठाउँ नभएर नराखेका हौं। उहाँहरुको चित्त दुखाई हुनसक्छ। उहाँहरुलाई समस्या बताएर अनुरोध गरेरै नराखेका हौ।
नाडा अटो शो कतीले अवलोकन गर्लान त?
यसपाली करिव ७५ हजारले अवलोकन गर्नुहुन्छ भन्ने आकलन छ।
नाडा अटो हो हेर्न किन जाने ?
समग्र अटोमोवाइल क्षेत्रमा केके नयाँ विकाहहरु भइरहेका छन्। कम्पनीले सेवाहरु केके दिन्छन् भन्ने कुरा नाडा अटो शोमा बुझ्न सकिन्छ। त्यस्तै विद्यार्थी , रिसर्चर, र विश्वभरको मोडल हेर्न जानकारी लिन खोज्नेको लागि यो ठाउँमा नआई हुदैन।
तस्बिरहरु:नारायण महर्जन/सेतोपाटी