दुइपांग्रे सवारीबाट यातायात सेवा दिएरहेको पठाओले आजबाट ट्याक्सी सेवा सुरु गरेको छ। पठाओको ट्याक्सी सेवा सुरु भएसँगै ट्याक्सी व्यवसायी भने आक्रोसित भएका छन्।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पठाओमा आवद्ध नहुन फेसबुक मार्फत ह्विप जारी गरेको छ।
पठाओले ललाई फकाई ट्याक्सीलाई आवद्ध गराउने र पछि प्राइभेट ट्याक्सीलाई पनि आवद्ध गराउने उदेश्यले यो सेवा सुरु गरेको समाजका केन्द्रीय सदस्य विष्णु चौहानले आरोप लगाए।
‘हामी यात्रुसगँ सहमतीमा जाँदा ट्राफिकले ‘हाउमच’ अभियान चलाउछ तर उनीहरुले सरकारले तोकेको भन्दा १ सय रुपैयाँ धेरै लिन्छन् र मिटरमा जादैनन,’ उनले भने। पठाओले गुणस्तर तथा नापतौल विभागलाई ठाडो चुनौती दिएको चौहानले बताए।
१ सय रुपैयाँ भाडा नभई सेवा शुल्क भएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल बताउछिन्।
‘ हाम्रो एपमार्फत ३ किलोमिटर टाढाको ट्याक्सीलाई बोलाउन सकिन्छ। चालकले मोबाइल डाटाबाट एप चलाउनु पर्यो, फोन गर्नु पर्यो, जानुपर्यो त्यसैले यो शुल्क राखिएको हो,’ उनले भनिन्।
यात्रुबाट लिइने सेवा शुल्क धेरै जसो चालकले पाउने हमालले बताइन्। त्यस्तै पठाओले नेपाल सरकारले तोकेको भाडामै किलोमिटर अनुसार सेवा दिइरहेको उनले स्पस्ट पारिन्।
हाल पठाओको ट्याक्सी सेवामा ३ सय भन्दा धेरै ट्याक्सी आवद्ध भइसकेको उनले जानकारी दिइन।