सवारी साधन ४ घण्टा चलाएपछि आधा घण्टा अनिवार्य बिश्राम गर्न यातायात व्यवस्था विभागले निर्देशन दिएको छ।
विभागले सूचना जारी गर्दै यातायात व्यवस्था ऐन २०५९ दफा १०३ मा ४ घण्टा भन्दा लामो दुरीमा चल्ने यत्रुवाहक सवारी साधनले प्रत्येक ४ घण्टामा १ पटक आधा घण्टा रोक्नुपर्छ र दफा १०४ मा लामो बाटो (प्रस्थान स्थानबाट २५० किलोमिटर वा सो भन्दा बढी दुरीको गन्तब्य स्थान) मा यातायात सेवा संचालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा २ जना चालक अनिवार्य रुपमा राखि प्रत्येक ६ घण्टामा पालैपालो चलाउनुपर्ने व्यवस्था रहेको भएपनि कार्यान्वयनमा आएको थिएन।
यो व्यवस्था प्रभावकारी नभएकोले ऐनको प्रावधान अनिवार्य रुपमा कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ।
निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारवाही हने विभागले चेतावनी दिएको छ।