आफूहरूले यात्रुलाई कुनै प्रकारको ठगी नगरेको पठाओ नेपालले जनाएको छ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पठाओबारे भ्रमपूर्ण सूचना प्रवाह भएको भन्दै नेपाल सरकारको प्रचलित कानुन बमोजिम नै काम गरिरहेको पठाओ नेपालका क्षेत्रीय निर्देशक अशिममान सिंह बस्न्यातले दाबी गरे।
‘ट्याक्सी भाडा नेपाल सरकारले तोकेबमोजिम नै छ। बुकिङ चार्जको बारेमा धेरैजना भ्रममा हुनुहुन्छ। बुकिङ चार्ज बापतको १ सय रुपैयाँ चालकको फोनकल, डाटा, ट्राफिक जाममा बस्नुपर्दाको प्रतिमिनेट १ रुपैयाँ र यात्रु लिन ३ किलोमिटरसम्म जाँदा लागि भनेर हामीले निर्धारण गरेका हौं। यो भाडा होइन सेवा शुल्क हो,’ उनले भने।
स्पष्ट कानुनी प्रावधान नहुँदा शुल्कमा विवाद भएको बस्न्यातले बताए।
त्यस्तै, पठाओले चारपांग्रे निजी सवारी साधनबाट सेवा दिन लागेको हल्ला नितान्त झूटो भएको उनले जानकारी दिए।
पठाओ नेपालले गत शुक्रबारदेखि ‘कार लाइट’ सुरू गरेको थियो।
यो सेवा प्रयोग गरेबापत बुकिङ चार्ज १ सय रुपैयाँ भएकोले पठाओ विवादमा परेको थियो।
त्यस्तै पठाओले निजी कार पनि प्रयोग गर्ने तयारी गरेको भन्दै उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी चालकहरूलाई पठाओ एप प्रयोग नगर्न ह्विप नै जारी गरेका थिए।