दैनिक ६ हजारको हाराहारीमा लाइसेन्स छाप्ने मास प्रिन्टर यातायात व्यवस्था विभागमा आइपुगेको छ।
अहिले प्रिन्टर इन्स्टलेसन र सफ्टवेयरको काम भइरहेको विभागले जनाएको छ। अबको करिव १५ दिनमा लाइसेन्स छपाई सुरु हुने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘सबै काम सकिन १५ दिन लाग्ला। त्यसपछि हामी कम्तीमा दैनिक ६ हजारको दरले लाइसेन्स छाप्छौँ’ उनले सेतोपाटीसँग भने। समस्या आएन भने ३/४ महिना भित्र बाँकी सबै लाइसेन्स वितरण गरिसक्ने उनले दावी गरे।
सेवाग्राहीललाई समयमा लाइसेन्स दिन अर्को पनि प्रिन्टर ल्याउने तयारी रहेको उनले जानकारी दिए। ‘यो मेसिनले समस्या हटाएपछि सेवाग्राहीलाई १ हप्ता भित्रै लाइसेन्स पाउन हामी अर्को प्रिन्टर खरिद गर्ने तयारीमा छौँ’ उनले भने।
नयाँ मेसिनको लागि सकेसम्म छिटो खरिद प्रकृयामा जाने उनले बताए। हाल प्रकृया पूरा गरेका करिव ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन्।
विभागको योजना अनुसार नै काम भयो भने ३/४ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउनेछन्। विभागमा भएका प्रिन्टर मध्ये ४ ओटा सुचारु छन् जसले दैनिक करिव १ हजार २ सय लाइसेन्स छाप्छन्।