राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। ६ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न ब्राण्डका दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन र तिनका पार्टसपूर्जाको बारेमा जानकारी लिन तथा खरिद गर्न पाइन्छ।
वर्षेनी दसैंको पूर्वसन्ध्यामा गरिने यो मेलामा सवारी साधन आयातकर्ता कम्पनीले ग्राहक ध्यान तान्न विभिन्न नयाँ उत्पादनहरु प्रदर्शन गर्ने गरेका छन्। विगत केही वर्ष देखि विभिन्न कम्पनीहरु विद्युतीय सवारी साधनमा केन्द्रित छन्।
यो वर्ष पनि धेरै कम्पनीहरुले आफ्नो विद्युतीय सवारी साधन प्रदर्शन गरेका छन्।
किया
कियाको लागि नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो अटो शोमा विद्युतीय सियुभी निरो इलेक्ट्रिक भेइकल(इभी) प्रदर्शन गरेको छ।
कन्टिनेन्टल ट्रेडिङले निरो केही समय अघि नेपाली बजारमा ल्याएको हो। ६४ किलोवाटको ब्याट्री दिइएको निरोमा १५० किलोवाटको मोटर जडित छ। यसले २०४ पिएस पावर र ३९५ एनएम टर्क जेनेरेट गर्छ। निरो सिङ्गल चार्जमा ४ सय ८० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दावी छ।
हुण्डाई
हुण्डाईको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले यो वर्ष ‘कोना’ प्रदर्शन गरेको छ। कोना केही महिना अगाडि सार्वजनिक भएको हो।
कोना फूल चार्जमा ४ सय ५२ किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीको दावी छ। यो २ ओटा भर्जन ३९.२ किलोवाट आवर र ६४ किलोवाट आवरमा उपलब्ध छ। ३९.२ किलोवाटका कोनाले १ सय ३१ बिपिएच पावर ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ।
विबाईडी
विबाईडीको लागि नेपालको आधिकारिक वितरक साइमेक्स इन्कले ३ ओटा विद्युतीय गाडी प्रदर्शन गरेको छ। साइमेक्सले विबाईडी इ ६, विबाईडी एम ३ (७ सिटर) र विबाईडी एम ३ (५ सिटर) डिस्प्ले गरेको हो।
कम्पनीले यी गाडीहरुको मूल्य इ ६ को ६५ लाख, एम ३ को ४७ लाख ५० हजार र विबाईडी एम ३ ( ५ सिट) को ४६ लाख ५० हजार निर्धारण गरेको छ।
प्युजो
प्युजोले पनि यो वर्षको नाडा अटो शोमा विद्युतीय सवारीसाधन प्रदर्शन गरेको छ। प्युजोको नेपालको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले पार्टनर टेप इलेक्ट्रिक गाडी ल्याएको हो। कम्पनीले यसको मूल्य ५० लाख निर्धारण गरेको छ।
यसले ४९ किलोवाट पावर र २०० एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ। २२.५ किलोवाट आवरको व्याट्री क्षमताको यस गाडीलाई फुलचार्ज गर्न ८ घण्टा ३० लाग्छ। लिथियम आयोन ब्याट्रीयुक्त यो गाडी फुलचार्जमा १ सय १० किलोमिटर गुड्ने कम्पनीको दावी छ।
दि गो
दि गोको आधिकारिक वितरक फ्युचर ग्रिन इनर्जी २ ओटा विद्युतीय गाडी प्रदर्शन गरेको छ। कम्पनीले ‘इ ८’ र ‘इएम३’ बजारमा ल्याएको हो। ५ सिट क्षमताको ‘इ ८’ मा ७.५ किलोवार्टको मोटर जडान छ।
१४.६ किलोवाट आवरको मोटर जडान गरिएको यसले १५ किलोवाट पावर र १८० एनएम टर्क दिन्छ। फुल चार्ज गर्न ५ देखि ६ घण्टा लाग्ने यस गाडीको टप स्पिड ६० देखि ७० किलोमिटर प्रतिघण्टाको दरले गुड्न सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै ब्याट्री क्षमता २२.१ किलोवाट आवर र हेको ‘इएम३’ ले ४० किलोवार्ट पावर जेनेरेट गर्छ। यसको उच्च गति ११० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।