बुधबार १४ औं संस्करणको नाडा अटो शो चलिरहेको छ।शोमा देखिएको भीडले व्यापारीहरुलाई पनि निकै उत्साहि बनाएको छ । यसै विषयमा नेपालमा टिभिएस मोटर्सको आधिकारिक बितरक जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालसँग गरिएको कुराकानी:
यो पटकको नाडा अटो शोमा कस्तो हुँदै छ?
दोस्रो दिनसम्म निकै राम्रो उत्साह देखिएको छ । मानिसहरुको भीडभाड निकै बाक्लो छ । आजै लन्च भएको यो रेडोन ११० को पनि २५० भन्दा बढी बुकिङ भइसकेको छ । अन्य उत्पादनको पनि बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको छौ ।
अघिल्लो वर्षको अनुभव हेर्दा विदाको दिन धेरैले अवलोकन गर्ने गरेका छन् । शुक्रबार र शनिबार अझै धेरै भीड हुन्छ भन्ने अपेक्षा छ । त्यसैले अहिले सुरुवाती उत्साह निकै राम्रो छ ।
यो वर्ष के फरक छ ?
आज दोस्रो दिन हो, त्यसैले अघिल्ला वर्षसँग यसको तुलना गर्न अझै समय भएको छैन । तर पनि के चाहिँ भन्न सकिन्छ भने दुई दिनमानै निकै ठुलो भीड देखिएको छ । पहिलो दिन पनि राम्रो भीड थियो । त्यसैले फरक भन्दा पनि मानिसको संख्या बढेको छ ।
अहिले चार पाङ्ग्रेमा भन्दा दुई पाङ्ग्रेमा बढी भिड देखिन्छ किन ?
सबैभन्दा पहिले किन्न सक्ने क्षमताको कुरा हुन्छ । धेरै नेपालीहरुको चार पाङ्ग्रे भन्दा दुई पाङ्ग्रे सवारी किन्ने क्षमता बढी छ । चार पाङ्ग्रेमा साच्चिकै किन्नेको भीड हुन्छ तर, दुई पाङ्ग्रेमा बिक्री गर्नेसँगै आफ्नो उत्पादन देखाउने प्लेटफर्म हो । त्यसैले पनि यहाँ सबैभन्दा बढी भीड लागेको छ ।
नाडामा किन किन्नुपर्ने ?
एकै ठाउँ, एउटै छानामुनी सबै कम्पनीका उत्पादन हेर्न पाइन्छ । ग्राहकले पनि एकै ठाउँमा धेरै विकल्पमा सोच्न सक्छन् । त्यसैले पनि यस्तो शोमा किन्ने रहर हुन्छ । अर्को कुरा दशैको ठिक अघि यस्तो शो गरिएको छ । दशैं अघि सामान्यतया अरु बेलाको भन्दा धेरै बिक्री हुन्छ । अहिले धेरै कम्पनीले विशेष छुटसहितका योजना ल्याउने हुनाले पनि नाडमा ग्राहकको आर्कषणा बढी छ ।
नयाँ ब्रान्ड आउने नयाँ स्किम तथा अफर पनि नाडा अटो शोमा दिने हुनाले यो एउटा अवसर पनि हो ।
पछिल्लो समय विद्युतीय सामानमा मानिसको आर्कषण बढीरहेको छ किन ?
भविष्यलाई हेर्ने हो। अब पेट्रोलको विकल्प खोज्ने बेला भएको छ । विश्वव्यापी रुपमा पनि पेट्रोलियम पदार्थको विकल्प खोजिएको छ । त्यसलाई कसरी प्रतिस्थापन गर्ने भन्ने चर्चा चलिरहेको छ ।
अहिले नै त्यसलाई पूर्ण रुपमा प्रतिस्थापन गर्न केही पाइएको छैन । भविष्यमा त्यसको विकल्पको रुपमा ब्याट्री हो भन्ने लाग्छ । त्यसमाथी पनि नेपालमा विद्युतको उत्पादन बढीरहेको बेलामा यसको प्रयोग बढाउनु जरुरी पनि छ । त्यसैले विद्युतिय सवारीमा आर्कषण हुनु राम्रो हो ।
नाडा अटो शोमा टिभिएसको स्पेशल के छ ?
त्यासो त टिभिएस जहिलेपनि स्पेसल नै हुन्छ । यो पटक पनि दुई नयाँ उत्पादन टिभिएसले भित्र्याएको छ । हामीले त्यसलाई नाडा अटो शो मा सार्वजनिक पनि गरेको छौ । टिभिएसको रेडोन ११० सिसि र अपाचे १६० सिसिमा डबल डिक्स पनि अहिलेनै ल्याएका छौ ।
पछिल्लो समय ११० सिसि जस्ता साना क्षमताका मोटरसाइकलको माग कम हुन थालेको छ । नेपामा यस्ता मोटर साइकल चढ्ने घटेका छन् । मलाई लाग्छ, यसले फेरि सानो क्षमताको मोटरसाइकल चढ्ने चलन बढाउनेछ ।