शावन्तजंग सिजापती
डेपुटी जनरल म्यानेजर, सिप्रदी
मंगलबारदेखि राजधानीमा सुरु भएको १४ औं संस्करणको नाडा अटो शो मा मानिसकोहरुको भीड बढिरहेको छ । गाडी किन्न उत्साहित पनि देखिन्छन् । भीड हेर्दा लामो सय देखि धेरैले नाडा शोमै गाडी किन्ने योजना बनाइरहेका जस्तो लाग्छ ।
विभिन्न कम्पनीका विभिन्न मोडलका गाडिहरु एकै ठाउँमा, एउटै छाना मुनी पाइने हुनाले पनि मानिसहरु शोमा विशेष आर्कषित भएका छन् । तिनै ग्राहकहरुलाई आफूतिर तान्न कम्पनीहरुले अफरहरु दिएका छन् ।
त्यो स्वभाविक पनि हो । त्यसैले त यो बेलामा धेरै गाडी बुक हुन्छ भन्ने पनि सुनिन्छ ।ग्राहकहरुले अहिले गाडी बुक गर्नु कम्पनी दिएको अफर लक गर्नु पनि हो । अहिले बुक गरेकै किन्नु पर्छ भन्ने छैन । त्यसैले पनि धेरै बुक भएको जस्तो देखिएको हो ।
गाडी किन्नु भनेको आजको भोलि हुँदैन त्यो लामो प्रक्रिया हो । त्यसैले अहिले बुक गरेर पछि राम्रोसँग बुझेर किन्न सकिन्छ । तर, गाडी किन्दा र बुक गर्दा कत्तिको सुरक्षित छ भन्ने पनि याद गर्नुपर्छ ।
तपाईको सबैभन्दा अमूल्य बस्तु तपाई आफै हो । तपाईले गाडी किन्दा त्यसमा भएको सेफ्टि फिचर रहेनछ भने त्यसमा जतिसुकै अफर वा छुट दिएपनि त्यसले महत्व राख्दैन।
गाडी चलाउँदा म र मेरो परिवार कति सुरक्षित हुन्छ भन्ने हेर्नुपर्छ । यो गाडीको क्रयास टेस्ट भएको छ कि छैन भन्ने पनि याद गर्नुपर्ने हुन्छ । सेफ्टि स्ट्यान्डर्ड पुरा गरेको छ कि छैन हेर्नुपर्छ ।
अहिले दैनिक जस्तो सवारी दुर्घटनाको कुरा सुनिरहेका हुन्छौ । दुर्घटनाको कारण विभिन्न हुन सक्छ तर, गाडीमा भएको सेफ्टी फिचरले कत्तीको काम गरेको छ भन्ने पनि याद गर्नुपर्छ । सेफ्टि फिचरले गम्भिर दुर्घटनामा पनि ज्यान जोगाउन सक्छ ।
अन्तर्राष्ट्रिय बजारमा सुरक्षित छैन भनिएको गाडी पनि नेपाली बजारमा भेटिन्छ । जुन गाडिको सेफ्टि टेस्ट नै भएको छैन त्यस्तो गाडी पनि यहाँ भित्रिन्छ र मज्जाले चलिरहेका छन् । त्यसको मतलब हाम्रो जीवनको मूल्य छैन ?
नेपालमा भएका गाडी सबैमा सेफ्टि टेस्ट भएको छैन । त्यसमा सरकारले पनि केही ध्यान दिनुपर्छ । सेफ्टि पास भएपछि मात्रै भन्सार पास भएर नेपाल आउने अवस्था बनाए मात्रै पनि यो अवस्था कम हुन्छ ।
ब्रान्ड राम्रो होला, डिस्काउन्ट पनि राम्रो पाउनुभयो होला तर, के त्योसँगै सुरक्षा पनि पाउनुभयो त? भोलि चाहिने त सुरक्षा हो । त्यसैले गाडी किन्दै हुनुहुन्छ भने सेफ्टि फिचरलाई पहिलो प्रथमिकतामा राख्नुहोस ।
तपाईले किन्दै गरेको गाडीको सेफ्टि टेस्ट गरेको हो कि हैन भनेर सोध्न नभुल्नु होला । गाडीमा कुन सामान प्रयोग भएको छ भन्ने पनि हेर्नुपर्छ । गाडीमा अहिले स्टिल भन्दा प्लास्टीकको प्रयोग बढेको छ । त्यसले हेर्दा राम्रो देखिएपनि त्यो सुरक्षित हुँदैन । स्टिल राखेपछि गाडी महङ्गो हुन्छ र गरुङ्गो पनि हुन्छ । त्यसले माइलेज कम दिन्छ, त्यसैले बढी माइलेज दिने प्लास्टिकका गाडीमा मानिसको आर्कषण बढेको छ ।
त्यसैले टाटाले पछिल्लो समय ल्याएका गाडीहरुमा निकै सुरक्षित छन् । हामी ग्राहकको सुरक्षामा कहिल्यै पनि सम्झौता गर्दैनौं । टाटाले सेफ्टिलाई सबैभन्दा पहिलो प्रथमिकता दिएको छ । त्यसैले टाटामा टाटा स्टिल मात्रै प्रयोग हुन्छ । जुन सबैभन्दा सुरक्षित छ ।
(कुराकानीमा आधारित)