तपाईसँग भएको पेट्रोल वा डिजेल गाडी बिग्रियो ? २० वर्ष पुरानो भएर चलाउन नमिल्ने भयो ?
चलाउन नमिल्ने भएको त्यस्तो गाडी के गर्ने योजना बनाउँदै हुनुहुन्छ? केही काम नलाग्ने भयो भनेर कवाडीमा दिने सोच त बनाउँदै हुनुहुन्न ?
यदी तपाईसँग पनि पुराना गाडी छन् भने त्यसलाई कवाडीमा दिन हतार नगर्नुहोस् । अब त्यस्तै पुराना गाडीबाट नयाँ विद्युतीय गाडी बन्ने भएको छ।
नाडा अटो शोमा प्रदर्शनमा राखिएको त्यस्तै एउटा गाडी छ। उक्त गाडी पुरानो पेट्रोल गाडीबाट बनाइएको हो। पुरानो गाडीको सबै इन्जिन निकालेर त्यसमा नयाँ इलेक्ट्रिक इन्जिन राखेर निमार्ण गरिएको हो।
‘इभी कन्भर्ट’ नाम दिइएको यो प्रविधिमा पुरानो जुनसुकै गाडी पनि फेरेर नयाँ बनाउन सकिने उक्त टिमका संयोजक कमलेस कुमारले बताए। त्यसलाई दिगोले निर्माण गरेका हो।
‘पुरानो जुनसुकै ब्रान्डको, जुनसुकै साइजको गाडी ल्याउनुहोस् हामी त्यसलाई पुरै इन्जिन फेरेर नयाँ बनाइदिन्छौँ’ उनले भने।
उनीहरु पुरानै गाडीको 'बडी' र 'चेसिस' लिन्छन् तर पुरानो गाडीको म्यानुअल सिस्टम भने फेरेर नयाँ अटोमेटिक इलेक्ट्रिक सिस्टम हालिदिन्छन् ।
‘कस्टुमरले ल्याएको गाडीको सेप र साइज हेरेर फ्युल ट्याङक निकाल्दा त्यसको स्पेस कति बच्छ। कति सामान निकालियो र कति थप्दा त्यसको तौल स्थिर हुन्छ सबै कुरा हेरेर गाडीको डिजाइन गर्छौ,’ कमलेसले भने।
गाडीको क्षमता पनि ग्राहकले चाहेअनुसारको बनाइने उनी बताउँछन्।
‘कसैलाई धेरै स्पिडले कुद्ने गाडी चाहिन्छ, कसैलाई बलियो धेरै तान्न सक्ने चाहिन्छ,’ उनले भने, ‘हामीले गाडीको इन्टेरियर देखि स्टेरियर डिजाइन गरेर नयाँ इलेक्टिकगाडी बनाउछौँ, लामो यात्रामा जानु पर्ने, सामान बोक्नुपर्ने वा उकालो ओरालो हिड्नुपर्ने छ भने हामी मोटरको क्षमता फेरिदिन्छौं। ४८ भोल्ट, ७२ भोल्ट वा ९६ भोल्ट सिस्टम कुन राख्नुपर्नेहो त्यही अनुसार सिस्टम फेर्न सकिन्छ।’
उनीहरुले अहिलेसम्म यस्तै प्रक्रियाबाट तीनवटा गाडी बनाइसकेका छन्।
ग्राहकबाट अर्डर आएपनि सरकारी निकायबाट अनुमति नपाउँदा काम गर्न नसकिएको उनको गुनासो छ। यस सम्बन्धी कानूनी व्यवस्था नहुँदा समस्या भएको उनको भनाइ छ। भारत लगायतका अन्य देशहरुमा यसैगरी गाडी बनाउन दिने व्यवस्था रहेको छ।
नक्सालको वर्कसपमा गाडी बनाइरहेको टिमले अनुमति पाएपछि पाँच वर्षमा देशैभर विस्तार गर्ने उक्त टिमको योजना रहेको छ।
उनीहरुले उत्पादन गरेको गाडीको चार्जिङको लागि पनि चार्जिङ स्टेसन गइरहनु पर्दैन ।
‘हामीले घरैमा चार्ज गर्न मिल्ने पनि बनाएका छौ, तर पछि चार्जिङ स्टेशन बनेपछि भने विभिन्न स्टेशनबाट पनि चार्ज गर्न भने मिल्छ । कम्पनीले ५ वर्ष भित्रमा ५ सय भन्दा बढी चार्जिङ स्टेशन बनाउने योजना छ,’ उनले भने ।
यसरी बनेका गाडी घरमै चार्ज गर्दा ८ घन्टामा फुल चार्ज हुन्छ । एक पटक फुल चार्ज भएपछि १ सय २० देखि १ सय ५० किलोमिटर सम्म गुड्ने उनको दाबी छ।
सरकारको अनुमति नपाएकाले यसको मूल्यबारे उनीहरुले खुलाउन चाहेका छैनन्।
ग्राहक आफैले गाडी ल्याएमा १० लाख नबढ्ने गरी विद्युतीय गाडीमा कन्भर्ट गरिने कमलेशको दाबी छ।