सुन्दर यातायातले राजधानीको भत्केको पुलमा चार्जिङ स्टेसन सुरु गरेको छ।
मंगलबार एक कार्यक्रमका बीच उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले चार्जिङ स्टेसनको उद्घाटन गरे।
उर्जा मन्त्रालयले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्न श्वेत पत्रमै सार्वजनिक गरेका बेला निजी क्षेत्रका कामले सहयोगी भूमिका खेलेको घिमिरले बताए।
‘उर्जा मन्त्रलय एक्लैले लक्ष्य प्राप्त गर्न सक्दैन। निजी क्षेत्रका यस्ता कामले सरकारको लक्ष्य प्राप्तीको लागि ठूलो भूमिका खेलेको छ,’ उनले भने।
सबै किसिमको गाडी चार्ज गर्न मिल्ने यो चार्जिङ स्टेशन रोल मोडल भएको भन्दै घिमिरेले अरु यातायात कम्पनीलाई पनि यस्तो कार्य गर्न आग्रह गरे। यो चार्जिङ स्टेशनले सबै प्रकारका विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।
‘यस स्टेशनबाट नेपालमा भित्रिएका र भित्रिन लागेका कुल १६ ओटा विद्युतीय सवारीसाधन सबैलाई चार्ज गर्न मिल्छ तर सरकारले नीति नबनाउँदा हामीले अरु सवारी साधनलाई चार्ज गर्न दिन मिल्दैन,’ थापाले भने।
सरकारले नीति बनाएको ७२ घण्टाभित्र सुन्दर यातायातले अरु २ ओटा चार्जिङ स्टेशन थप्ने थापाले दावी गरे। यो चार्जिङ स्टेसनले सुन्दर यातायातले ल्याउन लागेको ‘बिएके’ कम्पनीको १७५ केबीको गाडी ६० देखि ८० मिनेट भित्र फुल चार्ज हुने र फुल चार्जमा २६८ किलोमिटर यात्रा तय गर्न सकिने उनले जानकारी दिए।
त्यस्तै सुन्दर यातायातले भदौ २३ देखि रिङ रोडमा ४ ओटा विद्युतीय गाडी संचालनमा ल्याउने भएको छ। ‘हामी ३ महिना भित्र ११ ओटा थपेर १५ ओटा बनाउँछौ र यो आर्थिक वर्ष भित्र उपत्यका भित्र विद्युतीय गाडीको संख्या २५ पुर्याउँछौं,।’