भोलि सोमबारदेखि रिङरोडमा बिजुली बस संचालनमा आउने भएको छ।
चिनियाँ कम्पनी ‘बिएके’ले निर्माण गरेको ती बिजुली बस सुन्दर यातायातले संचालन गर्न लागेको हो।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बस शुभारम्भ गर्ने सुन्दर यातायातका संचालक सुरेश पोखरेलले जानकारी दिए।
‘२ बस तयार भइसक्यो, अरु २ वटा पनि काठमाडौं आइसक्यो, सकेसम्म चार वटै बस भोलिदेखि चलाउँछौँ’ पोखरेलले भने। हालका लागि रिङ्गरोडमा र पछि अरु थपिएपछि रिङ्गरोड बाहेका सडकमा पनि बिजुली बस संचालनमा ल्याइने उनले जानकारी दिए।
सुन्दरले सुरुवाती चरणमा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने २ वटा बस संचालन गर्ने तयारी गरेको छ।
नगदरहीत भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ।
त्यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिने पोखरेलले जानकारी दिए। गाडीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गर लगायतको सुविधा रहनेछ।