बुधबार देखि मास प्रिन्टरले लाइसेन्स छाप्न शुरु गर्ने भएको छ।
मास प्रिन्टरसँगै खरिद गरिएको स्मार्ट कार्ड आइनपुगेकोले छपाई सुरुहुन नसकेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘उताबाट भोलि लाइसेन्स पठाउँछ। हामीले असोज १ गते बुधबार देखि छाप्ने तयारी गरेका छौ,’ हमालले सेतोपाटीसगँ भने।
हाल विभागमा करिब ६० हजार स्मार्ट कार्ड पुरानो मेसिनबाट छपाई भइरहेको छ। विभागले नयाँ कार्ड आएपछि मात्रै मास प्रिन्टर प्रयोग गर्ने जनाएको थियो।
विभागका अनुसार यस मास प्रिन्टरबाट घण्टामा ५ सय लाइसेन्स छाप्न सकिने छ।
‘दैनिक ३ सिफ्ट गरेर १८ घण्टा लाइसेन्स छाप्ने योजना छ। ३ महिनामा सबै ब्याक लक (छाप्न बाकीँ) सक्ने योजना छ,’ उनले भने।
पुर्ण क्षमतामा लाइसेन्स छाप्दा दैनिक ९ हजार लाइसेन्स प्रिन्ट हुने विभागको दावी छ।
हाल प्रकृया पुरा गरेका करिब ६ लाख ५० हजार चालक रसिदकै भरमा सवारी चलाउन बाध्य छन्।