काठमाडौं उपत्यका भरको धेरै समस्या मध्य एउटा पार्किङ पनि हो। सार्वजनिक सवारी साधन व्यवस्थापनको राम्रो व्यवस्था नहुँदा निजी सवारी साधन प्रयोग सास्तीपूर्ण बन्दै गएको छ। त्यसमध्य एक हो पार्किङ।
सर्वसाधारणको यही समस्यालाई अवसरको रुपमा लिएर काठमाडौंका धेरै सपिङ मल, बैंक तथा पाँचतारे होटलसम्मले अनुमति नै नलिई पार्किङ व्यवसाय चलाईरहेका छन्।
काठमाडौंको मध्यभागमा पर्ने दरबारमार्गको पाँचतारे होटल अन्नपूर्णले चर्को शुल्क लिएर अनुमति बिनानै सशु:ल्क पार्किङ व्यवसाय चलाईरहेको छ।
अन्नपूर्ण होटल मात्रै होइन, काठमाडौंका प्राय सबै सपिङ मलले पनि दर्ता नै नगरि सशु:ल्क पार्किङ व्यवसाय संचालन गरिरहेका छन्।
सरकारले पार्किङ व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको छ। त्यसैले काठमाडौं महानगरपालिका भित्र सशु:ल्क पार्किङ व्यवसाय संचालनको लागि पनि महानगरपालिका सँगै अनुमति लिनु पर्छ। केही समय अगाडि काठमाडौंका विभिन्न पाँच स्थानमा सुरु भएको पार्किङ व्यवसाय बाहेक कसैले पनि पार्किङको व्यवसायको लागि अनुमति लिएको भेटिएको छैन।
सार्वजनिक ठाउँमा पार्किङ व्यवासय गर्न अनुमति लिए पनि निजी ठाउँमा व्यवसाय गर्नेले अनुमति नलिंदा त्यसबाट उठ्ने राजस्व पनि गुमाइरहेको छ महानगरले।
गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ राजस्व पार्किङ व्यवसायबाट संकलन गर्ने महानगरको योजना थियो। तर, कुनै पनि कम्पनीले सशु:ल्क पार्किङ व्यवसाय गर्ने अनुमति लिन नआएपछि महानगरको राजस्व पनि गुमेको छ।
अनुमति नै नलिइ कसरी संचालन भइरहेको छन् त सशुल्क पार्किङ स्थाल ?
यसलाई बुझ्नको लागि होटल अन्नपूर्णको उदाहरण हेरौं।
दरबारमार्गको अन्नपूर्ण होटलले संचालन गरिरहेको पार्किङलाई उसले आफ्नो पार्किङ भन्दैन। किन भने उसले होटल संचालनको प्रवन्धपत्र नियमावलीमा पार्किङ व्यवसाय संचालन गर्ने भन्ने कुरानै उल्लेख गरेको छैन।
उसले आफ्नो व्यवसायमा पार्किङ व्यवसाय पनि संचालन गर्न सक्ने भनेको छैन। तर, उसले आफ्नै होटलको लोगो प्रयोग गरेर पार्किङ शुल्क भने उठाइरहेको छ। त्यसैले गर्दा पनि उसले पार्किङको शुल्क लिएर गैह्रकानुनी काम गरिरहेको देखिन्छ।
महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोल भने अनुमति लिएमा मात्रै पार्किङ शुल्क उठाउन पाउने बताउछन्। होटलले पार्किङको लागि पनि कुनै अनुमति लिएको छैन।
‘पाँच तारे होटलले पनि पार्किङ शुल्क लिनछन् र ?’ हामीले महानगर भित्रका पाँचतारे होटलले लिएको पार्किङ शुल्को विषयमा जिज्ञाशा राख्दा डंगोलले उल्टै प्रश्न गर्दै भने, ‘कहाँ के भइरहेको छ म बुझ्छु।’
पार्किङ दर्ता नगरेको पुष्टि गर्ने अर्को आधार पनि छ, बिल।
अन्नपुर्ण होटलले पार्किङ शुल्क बुझाएपछि दिएको बिलमा समेत प्यान नम्बर वा भ्याट नम्बर छैन। व्यवसाय संचालनको लागि सानो कारोबार हुने व्यवसाय भए प्यानमा ठुलो व्यवसाय हो भने भ्याटमा दर्ता हुनु पर्छ। होटलले दिएको पार्किङको बिलमा यो नम्बर नहुदाँ त्यो कतै दर्ता छैन भन्ने बुझियो।
त्यतिमात्रै होइन यसले संचालन गरेको व्यवसायको राजस्व पनि सरकारलाई नतिरेको प्रष्ट हुन्छ।
त्यसो त होटलले आफ्ना ग्रहका लागि शुल्क नलिएको दाबी गरेको महानगरका कर्मचारीहरु बताउछन्। एक कर्मचारीले भने, ‘हामीले सोध्दा ग्राहक बाहेक पार्किङको लागि मात्रै आउनेलाई शुल्क लिने गरेको भन्छन्।’
आफ्ना ग्राहकलाई शुल्क नलिएको दाबी गरेपनि होटलमा जाने सबैसँग पार्किङ शुल्क लिने गरेको छ।
त्यसो त महानगरले पार्किङ व्यवसाय संचालन गर्न प्रोत्साहन गर्ने भन्दै पार्किङ व्यवसाय गर्नेलाई कर छुटको व्यावस्था पनि गरेको छ।
सामान्यतया कुनै पनि व्यवसाय संचालन गर्नको लागि सरकारी निकायबाट अनुमति लिनुपर्छ। व्यवसाय गरेर आम्दानी गर्न थालेपछि सरकारलाई राजस्व पनि तिर्नुपर्छ। सशुल्क पार्किङ पनि व्यवसाय हो।
तर यस्तो व्यवसाय राजधानी सहरमै अनुमति विना चलिरहेको छ।