टुटल र पठाओपछि राइड सेयरको लागि नयाँ एप सञ्चालनमा आएको छ।
टेक फर नेपाल प्रालीले सरर एप सञ्चालनमा ल्याएको हो। यो एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा आधारित एप हो।
यो सेवा अहिले परीक्षणको रूपमा सञ्चालन भइरहेको छ। अबको दुई हप्तामा औपचारिक सुरूआत हुने टेक फर नेपालका अपरेसन म्यानेजर सन्तोष बिमनीले जानकारी दिए।
‘अहिले हामी परीक्षण कालमा छौं। त्यो समयसम्मको लागि हामी चालकलाई शत प्रतिशत कमिसन दिन्छौं,’ उनले सेतोपाटीसगँ भने।
यो एपबाट सेवा लिँदा अरुभन्दा सस्तो हुने सन्तोषले दाबी गरे। सेवा प्रयोग गरे बापत पहिलो १.७ किलोमिटरसम्म ४५ रुपैयाँ र त्यसपछि प्रत्येक किलोमिटर १३ रुपैयाँ पर्ने उनले जानकारी दिए।
त्यस्तै यसमा चालकको रूपमा आवद्ध हुन चालक एप डाउनलोड गरी ब्लुबुक, लाइसेन्स, सवारी साधनको फोटो, नम्बर प्लेटको फोटो राखी रजिस्ट्रेसन गर्नु पर्नेछ।
त्यस्तै चालकले २ ओटा मोडलमा काम गर्न सकिने उनले जानकारी दिए।
‘प्रत्येक राइडको ५ प्रतिशत कमिसन दिएर र हाम्रो मासिक सब्स्क्राइब गरेर चालक हामीसगँ काम गर्न पाउनु हुने छ,’ बिमलीले भने।
मासिक ७ सय ५० रुपैयाँ तिरेर सब्स्क्राइब गर्नेले शत प्रतिशत पैसा आफूले राख्न पाउने छन् भने मासिक १ हजार तिरेर सब्स्क्राइब गर्नेले योसँगै सिमकार्ड (डाटा, भ्वाइसकल), बाइक सर्भिसिङ, वर्षमा १ पटक स्वदेश घुम्ने मौका पाउने छन्।
त्यस्तै, बीमाको व्यवस्था मिलाउने तयारी भइरहेको उनले जानकारी दिए।