असोज १२ गतेदेखि सार्वजनिक यातायात संचालन गर्न रुट परमिट नचाहिने भएको छ।
दशैँको लागि एकठाउँबाट अर्को ठाउमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन १२ गतेदेखि १९ गतेसम्म रुट परमिट खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘यो समयमा धेरै यात्रुहरु आवतजावत गर्छन्। उनीहरुलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले यो निणर्य गरेका हौँ,’ उनले सेतोपाटीसगँ भने ‘यो समयमा छोटो दुरीमा खाली गुड्नुपर्ने सवारी साधनको प्रयोग लामो दुरीको लागि गर्न लागिएको हो।’
त्यस्तै ट्राफिक व्यवस्थापनमा समस्या ल्याउने भएकोले यही अवधिसम्मको लागि काठमाडौं भित्रने मल्टी एक्सल ट्र्याक्टर टेलर (ठूला मालवाहक) लाई चितवनको नारायणगदेखि आवागमनमा रोक लगाइने हमालले जानकारी दिए।
विभागको यो निणर्य ठिक भएपनि अवधि निकै छोटो भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताए।
‘विभागले हामीसगँ छलफल नगरी यो निणर्य गर्यो। २१ गते टिका छ। नवमीको दिन घर जाने यात्रुपनि धेरै हुन्छन्। घरबाट फर्कर्ने यात्रुको व्यवस्थापन कसरी गर्ने?,’ सिटौलाले सेतोपाटीसगँ भने।
रुट परमिट खुल्यो भन्दैमा आफ्नो र यात्रुहरुको ज्यान जोखिममा पार्नेगरि जस्तोपायो त्यस्तो पुराना बिग्रेका गाडी नचलाउन सिटौलाको आग्रह छ।
रुट परमिटको दुरुपयोग नहोस् भन्ने उदेश्यले ७ दिन मात्र रुट परमिट खोलिएको र आवश्यक परेमा यसको अवधि बढाउन सकिने हमालले जानकारी दिए।
‘यात्रुको धेरै चाप हुने घर जाने बेलामा हो। आउने बेलामा त्यस्तो समस्या हुँदैन। आवश्यक पर्यो भने हामी अवधि बढाउँछौ’, उनले भने।