सञ्चार माध्यममा असोज ५ गतेदेखि अग्रिम टिकट खुला भएको सुनेर बर्दिबासकी सुनिता आचार्य दसैंका लागि अग्रिम टिकट काट्न कोटेश्वर पुगिन्।
तर घर जाने दिन बिहान आउनुस् भनेर टिकट काउन्टरका कर्मचारीले सुनितालाई फर्काइदिए।
‘समाचारमा त ५ गतेदेखि टिकट खुल्ने भन्थ्यो। यहाँ टिकट दिँदैन। घर जाने दिन टिकट पाउने चाहिँ हो कि होइन,’ उनले भनिन्।
यो समस्या उनको मात्र होइन बर्दिवास, सिन्धुली, हेटौंडा, चितवन, पोखरा , बुटवल लगायतका मध्यम दूरीका धरै यात्रुहरूले अग्रिम टिकट बुकिङ गर्न पाएका छैनन्।
अग्रिम टिकट काट्न नमिल्ने र गाडी चढ्नलाई बिहान सबेरै आउनु पर्ने कोटेश्वरस्थित बर्दिबास यातायात सेवा प्रालिका टिकट काउन्टर स्टाफ सन्जय ओझाले जानकारी दिए।
‘ अग्रिम टिकट खुल्ने भनेको ठूला गाडीको हो। सुमो, हायस र माइक्रोको खुल्दैन। यहाँ जो पहिला आयो त्यही चढ्ने हो,’ उनले भने।
महासघंमा आवद्ध नभएकाहरूलाई आफूहरूले अग्रिम टिकट खुलाउन बाध्य पार्न नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘हामी दूरीको हिसाबले अब छोटो दूरीको पनि अग्रिम टिकट खुलाउँछौं तर महासघंमा आवद्ध नभएकाहरूलाई हामी बाध्य बनाउन सक्दैनौं,’ उनले भने।
अग्रिम टिकटका लागि व्यवसयीसँग सहमति भए पनि उनीहरूले नमानेको अवस्थामा केही गर्न नसक्ने यातायात व्यवस्था विभागका प्रवक्ता तिर्थराज खनालले बताए।
‘अग्रिम टिकटको सहमति त भएकै हो। मानेनन् भने त के गर्न सकिन्छ र,’ खनालले भने।
यातायात व्यवसायीहरूको यो प्रवृत्तिले कालोबजारी बढाइरहेको यातायात अधिकारकर्मी रामबहादुर थापाले बताए।
‘अग्रिम टिकट दिँदैनन्। पछि यात्रुसगँ बार्गेनिङ गरेर धेरै भाडा असुल्छन्। यो कालोबजारी हटाउने हो भने मध्यम र छोटो दूरीमा चल्ने सुमो, हायास र माइक्रोको पनि अग्रिम टिकट बुकिङ खोल्नु पर्छ,’ उनले भने।