दुर्घटना न्यूनिकरणको लागि टिपरमा सरकारले नयाँ नियम लागू गर्ने भएको छ।
सोमबार ट्राफिक प्रहरी, टिपर व्यवसायी, यातायात व्ययसायी महासघं लगायतका सरोकारवाला निकायहरुको बैठकले चर्को आवाजमा संगित सुन्ने उफर, गाडीको सिसामाथि राखिएको झल्लर हटाउने, लुकिङ ग्लास व्यवस्थित तरिकाले राख्नुपर्ने नियम लागू गरेको छ।
साथै टिपरको नम्बरप्लेट हिलोले छोपिने हुँदा पछाडी २ ओटा नम्बर प्लेट राख्नुपर्ने नियम लागू गरेको उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले जानकारी दिए।
‘गाडीमा राखिएको झल्लरले चालकलाई बाधा गर्नसक्छ, उफरमा चर्को ध्वनीमा गित सुन्दा ध्यान हट्नसक्छ र टिपरहरुले लुकिङ ग्लास व्यवस्थित नराख्दा पनि दुर्घटना बढेको पाइयो’ ढकालले सेतोपाटीसगँ भने ‘त्यस्तै धेरैजसो टिपरको नम्बर प्लेट हिलोले छोपिने हुँदा हिट एण्ड रन केस बढेकोले पछाडी २ ओटा नम्बर प्लेट राख्ने नियम लागू गरेका हौं,।’
यी नियम १५ दिनभित्र लागू गर्न टिपर व्यवसायी राजी भएको ढकालले जानकारी दिए।
सरकारको यो कार्य स्वागतयोग्य भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।
‘यो निणर्य टिपर व्यवसायीकै हितको लागि हो, हामीले यो निणर्य लागु गर्न टिपर व्यवसायीलाई पत्र काटिसकेका छौं,’ उनले भने ‘झल्लर हटाउने, उफर हटाउने, लुकिङ मिरर व्यवस्थित गर्ने, नम्बर प्लेट स्पस्ट राख्ने निणर्य स्वागतयोग्य छ।’
त्यस्तै, बसको हुटमा यात्रु राखेको कारणले दुर्घटना भएको कारण हेलम्बु यातायातमा हुट हटाउने निणर्य गरिएको ढकालले जानकारी दिए।
सवारी साधनबाट हुट हटाउने काम भने अव्यवहारिक भएको सिटौलाले बताए।
‘हुटमा मान्छे राख्न त हुँदै हुँदैन, तर यात्रुको अलिअलि सामान राख्न हुट अनिवार्य चाहिन्छ,’ उनले भने।